समाजसेवामा जस्तो आनन्द अरु कतै भेटिदैन: ईशा गुरुङ ।


समाजसेवामा जस्तो आनन्द अरु कतै भेटिदैन: ईशा गुरुङ ।

हराएका बर्षहरु मा हेर्ने कथाले ३५ बर्षदेखी हराइरहेका प्रकाश तामाङलाइ हिमाली भेगतिर खोजेर भेट्टाएको खबर अहिले निक्कै चर्चित भएको छ ।  बुबाको अनुहार नै नदेखी हुर्केकी ईशा भने यसरी हराउन सकिनन् ।  

जिवनको यात्रा र यात्रामा संघर्षका पाइलाहरु
कास्की मौजा आलुबारीको सामान्य परिवारमा जन्मिएकी हुन इशा गुरुङ । बाल्यकालमा ईशाको जीवन अहिले देखेजस्तो सम्पन्न थिएन । ७ महिनाको गर्भमै हुदा बुबा गुमाएकी ईशालाइ बाल्यकाल देखि नै अनेकौ चुनौतिहरुको सामना गर्नुपर्यो ।  

अभावै अभावले पिल्सिएको ईशाको बाल्यकालको परिवारमा आमा, ३ जना दाजुहरु, १ जना दिदी र ईशा गरि ६ जना थिए । परिवारको व्यवस्थापन गर्न गाह्रो र छोराछोरीको उज्जवल भविष्यको लागि स्कुल पढाउन आफ्ना सन्तान लिएर ईशाकी आमा पोखरा झरिन् । त्यसपछि सुरु भए ईशाका जिवनका कठिन गोरेटाहरु । 

खान र लाउन धौधौ परिरहेको बेलामा आफ्नो पढाई खर्च जुटाउन ईशाले बाल्यकाल देखि नै आमासँग काम गर्न थालिन् । ७/८ बर्षको उमेरमा पोखराको स्कुलमा पढ्दै गर्दा धेरै कुराहरु स्मरण नरहेपनि स्कुल पढ्नलाई गिट्टी कुट्ने, ऊन कात्ने बेच्ने, दालमोठ प्याक गर्ने जस्ता कामहरु गर्दै आफ्नो पढाइ खर्च जोहो गरेर एस.एल.सि. उत्तिर्ण गरेको बताइन । पछि कानुन सम्बन्धि विषय पढ्न पोखराको पृथ्वीनारायण क्याम्पसमा भर्ना भएकी ईशा आफ्नो पढाई सँगसँगै अरुलाइ पढाउन पनि लागिन् । ईशालाइ आफ्नो दिन बितेको पत्तो हुदैनथ्यो । बिहान ७ बजेदेखी घर छोडेको साँझ घर फर्किदा ७/८ बज्थ्यो । 

कडा मिहेनेत, लगाव, अनुशासन र दृढ विचारले जिवनका कठिन घुम्तिहरु सहजै पार गर्दै गएको उनको जिवनीलाई नियाल्दा प्रष्ट देखिन्छ ।  
हरेकका आफ्नै सपना हुन्छन । कतिपय सपना पूरा हुन्छन भने कतिपय सपना सपनामै खुम्चिन्छन । ईशा पनि आफ्ना सपनाहरु पुरा गर्न निरन्तर संघर्ष गरिरहिन् । कुनैपनि कामलाई उत्तिकै महत्वका साथ सम्मान दिने ईशा बाल्यकालदेखी नै तिष्ण बुद्धी, निडर र आत्मबल भएकी नारी थिईन् ।

जति नै संघर्ष गर्दा पनि आफ्नो परिवारको अवस्था सुधार्न नसक्दा ईशालाई दुःख लाग्थ्यो । तर पनि आफ्नी आमाको मार्गदर्शन र आफ्नो उज्जवल भविष्यको संकल्प गर्दै निरन्तर मेहनत गरिन्, अगाडी बढिरहिन् । पछि एउटा जापनिज रेस्टुरेन्टमा काम गर्न थालिन् । यसपछि भने ईशाको जीवनले नयाँ मोड लियो ।

अभाव र देशको परिस्थितिले पनि ईशालाई आफ्नै देशमा रहन दिएन । रोजगारीको सिलसिलामा जन्मभुमी छोडेर कर्ममा विश्वास बोकेर जापान उडिन् । करिब १ दशक लामो जापान बसाईपछि ईशा नेपाल फर्किन् । र केही समय बिताइन् । पछि फेरि बेलायतलाई कर्म थलो बनाएर बेलायत पुगिन् ।  श्रीमान र १ छोरी सहित २४ बर्ष देखि निरन्तर बेलायतमै रहेकी इशा हाल आएर दुखीहरुको साहारा बनिरहेको सामाजिक सन्जाल मार्फत प्रष्ट देख्न सकिन्छ ।
मान्छे धन कमाएपछि एकाएक परिवर्तन भएको देखिन्छ तर ईशा भने हरेकको समस्यामा साहारा बनेकी छिन् । दुखी, पिडित र असाहायहरुको सहारा बनेरै आफ्नो जीवनका यात्राहरुमा दौडिरहेको उदाहरणहरु अनगिन्ति छन् ।  जस्ले दुःख, समस्या बुझेर हुर्केको हुन्छ । त्यसैले मात्र अरुको दुःखलाई बुझ्न सक्दछ उनी बताउछिन् ।

समाज सेवामा समर्पित फराकिलो मनकी धनी ईशाले बिगतको यो २ महिना भित्रै विभिन्न अशक्त बिरामी, पीडित, आश्रम र अस्पतालमा गरेर लगभग ४ लाख ७० हजार सहयोग गरेको बताउछिन् । धन हैन, मन ठूलो चाहिन्छ भन्ने ईशाले मन दिएको हो या धन त्यो त उहाको हरेक सहयोगबाट प्रत्यक्ष देख्न सकिन्छ ।

गोरखाको छेकम्पारको गोठबाट बिदाई भएका प्रकाश तामाङलाई पनि रु १ लाख तामाङकै नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खातामा पठाइसकेको र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनको कारखानमा रोजगार दिलाउने कुरामा जोड दिदै महाविर पुन सँग कुरा भएको जानकारी दिएकी  छिन् ।

कर्ममा विश्वास गर्ने ईशा गुरुङको समाजसेवाको यात्रामा धेरै ठाउँहरु, संस्था र समुहबाट सम्मानित हुँदै २०७५ सालमा अभियान श्री बाट पनि सम्मानित भएकी थिइन् ।