३० जना प्रहरी कर्मचारीलाई विपद् व्यवस्थापन आधारभूत तालिम


३० जना प्रहरी कर्मचारीलाई विपद् व्यवस्थापन आधारभूत तालिम

काठमाडौं । नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुशीले ३० जना प्रहरी कर्मचारीलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको तत्वावधानमा सञ्चालन भएको ३९औँ समूहअन्तर्गत उक्त तालिम सम्पन्न भएको हो।

तालिम समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा केन्द्रका प्रहरी उपरीक्षक सन्तोष आचार्यले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै विपद् उद्धारकर्मीको रूपमा खटिँदा संवेदनशील, साहसी र अग्रसर भई आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक गणेशबहादुर बरालले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै वैशाख ३ गतेदेखि सञ्चालन भएको ४५ कार्यदिने तालिममा प्रहरी सहायक निरीक्षक ४ जना, प्रहरी सहायक हवल्दार ३ जना तथा प्रहरी जवान २३ जना गरी कुल ३० जना प्रशिक्षार्थी सहभागी रहेको जानकारी दिनुभयो।