रिमा केसीको तेस्रो कृति ‘बगावतनामा’ सार्वजनिक


रिमा केसीको तेस्रो कृति ‘बगावतनामा’ सार्वजनिक

काठमाडौँ । कवयत्री रिमा केसीको तेस्रो कृति कवितासङ्ग्रह  ‘बगावतनामा’ सार्वजनिक भएको छ ।

शनिबार काठमाडौँमा एक कार्यक्रमकाबीच प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, राजनीतिक विश्लेषक तथा लेखक आहुति, निबन्धकार तथा पत्रकार दीपक सापकोटा र कवि लक्ष्मी माली ले किताब सार्वजनिक गरेका हुन् । 

संग्रहभित्रका चार भागमा समसामयिक प्रेम, वियोग, आशा, निराशा, सामाजिक न्याय, विद्रोह, आत्मसम्मानलगायत विषयमा लेखिएका चालीस थान कविता समावेश छन् ।कार्यक्रममा कुलपति राईले केसीका कविता कानैछेउ भएर सुसेल्दै बहने हावाजस्तो मिठासपूर्ण भएको बताए ।

 

कवि केसीका कविता पाठकीय दृष्टिकोणबाट अब्बल रहेको बताउँदै उनले भने, ‘कविता मूलतः बोध हो, व्याख्या हैन । पाठकीय हो, समालोचकीय होइन ।सिद्धान्त, शास्त्र र व्याकरणबाट माथि उठेर ‘बगावतनामा’ मा कवि केसीले पददलित मान्छेको चित्कारजस्ता कविता लेखेको राईको भनाइ थियो ।

विश्लेषक आहुतिले संग्रहमाथि आलोचनात्मक टिप्पणी गर्दै ‘साहित्य समाजका लागि हुन्छ र साहित्यमा राजनीतिक, सामाजिक तथा वैचारिक दृष्टिकोण आवश्यक हुने’ बताए । उनले मध्यमवर्गले अबको वैचारिकी बोक्न नसक्ने बताउँदै साहित्य श्रमिक वर्गको दृष्टिकोणबाट लेखिनुपर्ने तर्क गरे ।

निबन्धकार तथा पत्रकार दीपक सापकोटाले कवि केसी समकालिन कविताको गम्भीर स्वर भएको बताए । ‘कविता सधैँ प्रेमबाट सुरु हुन्छ, तर त्यो प्रेम सधैँ कोमल मात्रै हुँदैन । कहिलेकाहीँ प्रेम प्रश्न हुन्छ, कहिलेकाहीँ अस्वीकार र कहिलेकाहीँ प्रतिरोध । बगावतनामा यही द्वन्द्वात्मक भूमिमा उभिएको किताब हो,’ उनले भने, ‘जहाँ प्रेम र प्रतिरोध एक–अर्काको विकल्प होइनन्, बरु एक–अर्काका गहिरा सम्भावना हुन् ।’‘बगावतनामा’मा सरल, तर बोध–गम्भीर कविताहरु रहेको सापकोटाले बताए ।

कवि मालीले केसीका कविता समकालिन कवितामा बहस सिर्जना गर्न सक्षम र अब्बल रहेको बताइन् । ‘कविले समकालीन स्वरमार्फत् समाजलाई असल बाटो देखाएकी छिन्,’ मालीले भनिन् । 

प्रकाशन–संस्था इन्डिगो इन्कले प्रकाशन गरेको किताब २०८२ पौष २६ गते शनिबार नेपाल प्रज्ञा-प्रतिस्ठान कमलादी काठमाडौमा विमोचन गरिएको हो ‘बगावतनामा’ को मूल्य भने ५४९ रुपैयाँ रहेको छ !