नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त
काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई पाँच वर्षका लागि नियुक्त गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले घिमिरेलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। नियुक्तिपछि उनको शपथग्रहण सूचना तथा सञ्चार मन्त्रालयमा सम्पन्न हुने जनाइएको छ।
यसअघि सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएपछि तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी पदमुक्त भएका थिए। त्यसयता घिमिरेले प्राधिकरणको निमित्त अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए।
घिमिरे नेपाल दूरसञ्चार प्राधिकरणमा लामो समयदेखि आर्थिक विश्लेषण तथा उपभोक्ता हित संरक्षण क्षेत्रमा कार्यरत थिए। उनले उपभोक्ता हित संरक्षण महाशाखा प्रमुखका रूपमा समेत जिम्मेवारी निर्वाह गरिसकेका छन्।
अध्यादेश कार्यान्वयनमा आएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख २१ गते प्राधिकरणका तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी तथा सदस्यहरू कृष्णप्रसाद पोख्रेल, नवराज अधिकारी, रविन्द्र झा र गोकर्णप्रसाद सिटौलालाई पदमुक्त गरेको थियो।
रिक्त अध्यक्ष तथा सदस्य पदका लागि मन्त्रालयले वैशाख २६ गते दरखास्त आह्वान गरेको थियो। अध्यक्ष पदका लागि २९ जनाले आवेदन दिएका थिए। छनोट प्रक्रियाअन्तर्गत सिफारिस समितिले नौ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको थियो। त्यसपछि आठ जना उम्मेदवारले व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्तामा सहभागिता जनाएका थिए।
संक्षिप्त सूचीमा रहेका राजिब सुब्बाले निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएपछि आफ्नो आवेदन फिर्ता लिएका थिए। अन्तिम प्रतिस्पर्धामा अर्जुन घिमिरे र अनिलकुमार झा प्रमुख दाबेदारका रूपमा हेरिएका थिए। अन्ततः सरकारले घिमिरेलाई नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।











