ग्राहक केन्द्रित सेवा र अनलाइन सुविधा लागि थप कार्य गर्दै नेपाल टेलिकम
काठमाडाैं । नेपाल टेलिकमले कम्पनीका सेवाहरूलाई ग्राहक केन्द्रित बनाउनुका साथै सेवा प्रवाहका लागि अनलाइन प्लेटफर्मको विकास गर्ने लगायतका कार्य अगाडि बढाएको छ। नेपाल सरकारको १०० बुँदे शासकीय सुधारको कार्यसूची अन्तर्गत नेपाल टेलिकमसँग सम्बन्धित केही कार्य सम्पन्न भइसकेका छन् भने केही कार्य कार्यान्वयनको क्रममा रहेका छन्।
यस अनुसार डाटा प्याकेज खपत हुनु अघि अर्थात् ९० प्रतिशत खपत भएपश्चात् ग्राहकलाई एसएमएस वा एप नोटिफिकेसनमार्फत सूचित गराई प्याकेज रिन्यु गर्न अनुरोध गर्ने र ग्राहकले चाहेको अवस्थामा PAYG Enable/Disable गर्न सकिने व्यवस्था लागू भइसकेको छ।
नेपाल टेलिकमको कुनै पनि सेवा लिँदा ग्राहकले एक पटक बुझाएको व्यक्तिगत विवरण तथा कागजातलाई डाटाबेसमा सुरक्षित राख्ने र पुनः सेवा लिँदा व्यक्तिगत विवरण बुझाउन नपर्ने व्यवस्थाका लागि आवश्यक कार्य भइरहेको छ।
नेपाल टेलिकमको ई–सिम अनलाइन रूपमा लिन र केवाईसी अद्यावधिक गर्न सकिने व्यवस्था भएको छ। ग्राहक गुनासो र अन्य समस्या समाधानका लागि समेत विभिन्न कार्य भइरहेका छन्।
नेपाल टेलिकमका कार्यालयहरूमा उपस्थित भएका सेवाग्राहीहरूलाई “वान स्टप सर्भिस” मार्फत सबै सेवाहरू छिटो, छरितो र एकीकृत रूपमा उपलब्ध गराउनका लागि कार्यालयहरूमा फ्रन्ट डेस्क स्थापना भई सञ्चालनमा रहेको छ।











