भारतमा रहेका नेपालीका मुद्दा प्राथमिकतामा राख्न रास्वपा सभापतिलाई खुला पत्र
चेन्रइ, भारत। भारतमा रोजगारीका क्रममा रहेका नेपाली नागरिकका समस्या र राष्ट्रिय सरोकारका विषयलाई भारत भ्रमणका क्रममा प्राथमिकतामा राख्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई आग्रह गरिएको छ।
तमिलनाडु राज्य, भारतमा कार्यरत गोकुल शर्माले खुला पत्रमार्फत भारतमा रहेका झण्डै ४० लाख नेपालीको पीडा, अपेक्षा र राष्ट्रिय स्वाभिमानसँग जोडिएका मुद्दा उठाउन आग्रह गरेका हुन्।
पत्रमा नेपाल–भारत सम्बन्धलाई नजिकको र ऐतिहासिक सम्बन्धका रूपमा उल्लेख गर्दै दुई देशबीच मित्रता भए पनि सीमा विवाद, राष्ट्रिय स्वाभिमान र प्रवासी नेपालीको सुरक्षाका सवाल अझै समाधान हुन नसकेको बताइएको छ।
शर्माले विगतका उच्चस्तरीय भ्रमणहरूमा फोटो सेसन, रात्रिभोज, रातो कार्पेट र औपचारिकताले प्राथमिकता पाएको तर कालापानी, लिपुलेक, लिम्पियाधुरा, सीमा अतिक्रमण तथा भारतमा कार्यरत नेपालीमाथि हुने अपमान र ज्यादतीजस्ता विषयहरू प्रभावकारी रूपमा उठ्न नसकेको आरोप लगाएका छन्।
उनले यसपटकको भ्रमणलाई नेपाली जनताले परीक्षणका रूपमा हेरिरहेको उल्लेख गर्दै शक्तिशाली सरकार र त्यससँग जोडिएको दलका सभापतिको भारत भ्रमण परिणाममुखी हुनुपर्ने बताएका छन्।
खुला पत्रमा भारतमा रहेका नेपाली श्रमिकहरू विभिन्न अपमान, तिरस्कार र असुरक्षाको अनुभूति गर्न बाध्य भएको उल्लेख गरिएको छ। “भारत हाम्रो रोजगारीको आश्रय राष्ट्र पनि हो, तर यहाँ रहेका लाखौँ नेपालीका समस्या राजनीतिक नेतृत्वको प्राथमिकतामा पर्नुपर्छ,” पत्रमा भनिएको छ।
शर्माले सभापतिको भारत भ्रमणले प्रवासी नेपालीप्रति राज्यको जिम्मेवारी झल्काउने विश्वास व्यक्त गर्दै भ्रमण सुखद, सार्थक र परिणाममुखी होस् भन्ने शुभकामना दिएका छन्।











