नेपाली हज यात्रीको टोलीलाई बिदाइ
काठमाडौं । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह र नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद आजमी मिनिकिरले आज पवित्र हज यात्राका लागि मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीहरूको टोलीलाई बिदाइ गरेका छन् ।
बिदाइ कार्यक्रममा बोल्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार शाहले नेपाल र साउदी अरेबियाबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध समयसँगै अझ प्रगाढ बन्दै गएको उल्लेख गरेका छन् । उनले हज यात्राले दुई देशबीचको आपसी सद्भाव र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
त्यसैगरी, राजदूत आजमी मिनिकिरले हज इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक कर्तव्य भएको उल्लेख गर्दै नेपाली मुस्लिम समुदायप्रति शुभेच्छा व्यक्त गरेका छन् । उनले हज यात्रामा सहभागी सबै नेपाली तीर्थयात्रीहरूको यात्रा सफल, सुरक्षित तथा मङ्गलमय होस् भन्ने कामना गरे ।
कार्यक्रममा सहभागी हज यात्रीहरू, धार्मिक अगुवा तथा सम्बन्धित निकायका प्रतिनिधिहरू उपस्थित रहेका थिए ।











