पाँचौँ पटक थपियो विष्णु पौडेलको हिरासत, मनी लाउन्डरिङ अनुसन्धान जारी


पाँचौँ पटक थपियो विष्णु पौडेलको हिरासत, मनी लाउन्डरिङ अनुसन्धान जारी

काठमाडौं । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अनुसन्धानका लागि पाँचौँ पटक हिरासतमा राख्न अनुमति दिएको छ।

सोमबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले उनलाई थप तीन दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गर्ने आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरण विभागले पौडेलमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ। विभागकै पत्रका आधारमा उनलाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो।

पक्राउपछि विभागले विशेष अदालतबाट पटक-पटक म्याद थप गर्दै अनुसन्धान अगाडि बढाइरहेको छ। यसअघि चार पटक म्याद थप भइसकेको थियो भने सोमबारको आदेशसँगै पाँचौँ पटक हिरासतको अवधि थपिएको हो।

विभागका अनुसार अनुसन्धान प्रक्रिया अझै जारी रहेकाले आवश्यक कानुनी प्रक्रिया पूरा गर्न अदालतबाट थप समय मागिएको हो। मुद्दासम्बन्धी थप अनुसन्धानपछि मात्रै आवश्यक कानुनी निर्णय प्रक्रिया अघि बढाइने जनाइएको छ।