बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन र ‘मिडिया मन्थन’ आजदेखि
बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आज (शनिबार)देखि बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन तथा ‘मिडिया मन्थन’ सुरु हुँदैछ। बुटवल उद्योग वाणिज्य संघको सभाहलमा आयोजना हुने सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ।
महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेका अनुसार सम्मेलनमा देशभरका विभिन्न जिल्लाबाट महासंघका प्रतिनिधि, केन्द्रीय पदाधिकारी, पत्रकार सम्बद्ध संघ–संस्थाका नेतृत्वकर्ता तथा राष्ट्रिय र मोफसलका सञ्चार माध्यममा लामो अनुभव भएका व्यक्तित्वहरूको सहभागिता रहनेछ।
सम्मेलनमा रुपन्देही बाहिरबाट मात्रै एक सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जनाइएको छ भने स्थानीय पत्रकार, विभिन्न संघ–संस्थाका प्रतिनिधिसहित करिब तीन सयभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ।
महासंघका सचिव सीपी खनालका अनुसार सम्मेलनमा सञ्चार, राजनीति, अर्थतन्त्र, पर्यटन तथा डिजिटल मिडियासँग सम्बन्धित ९ वटा विषयमा समूहगत छलफल (प्यानल डिस्कसन) गरिनेछ। पहिलो दिन तीन वटा र दोस्रो दिन छ वटा विषयमा छलफल तय गरिएको छ।
सोमबार देशभरबाट आएका प्रतिनिधिहरूबीच प्रदेशगत रूपमा पत्रकारिताको विगत, वर्तमान र भविष्यका चुनौती तथा अवसरबारे छलफल गरिनेछ। त्यसपछि ‘बुटवल घोषणापत्र’ जारी गर्दै सम्मेलन समापन गरिने आयोजकले जनाएको छ।











