चेन्नईमा श्री भवानी भल्भा एकता समाजको तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
चेन्नइ, भारत। श्री भवानी भल्भा एकता समाज को तेस्रो वार्षिकोत्सव चेन्नईमा भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ।
सोमबार भएको सो कार्यक्रममा समाजका पदाधिकारी, सदस्यहरू तथा प्रवासी नेपालीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। समाजले स्थापना कालदेखि नै आफ्नो गाउँ तथा समुदायको हितमा विभिन्न सामाजिक, धार्मिक र सांस्कृतिक कार्यहरू गर्दै आइरहेको छ।
विशेषगरी गाउँमा रहेका देवी–देवताका मठमन्दिरहरूको मर्मत तथा निर्माणमा सहयोग पुर्याउनुका साथै समाजभित्र वा बाहिर रहेका असक्त, दुःखी तथा विपन्न व्यक्तिहरूलाई सक्दो सहयोग गर्दै आएको समाजले जनाएको छ।
त्यसैगरी, आफ्नो मौलिक परम्परा, संस्कृति तथा सामाजिक सद्भावलाई जोगाइराख्न विभिन्न सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।समाजले भविष्यमा पनि सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
वार्षिकोत्सव कार्यक्रममा सहभागीहरूले समाजले गर्दै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले सामाजिक सेवामा सक्रिय रहन शुभकामना व्यक्त गरेका थिए।











