कोदारीमा सडक भासिँदा तातोपानी नाका पुनः ठप्प, मालवाहक कन्टेनर रोकिए
सिन्धुपाल्चोक। नेपाल–चीन जोड्ने तातोपानी नाका सोमबार पुनः अवरुद्ध भएको छ। अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ स्थित कोदारीको इको क्षेत्रमा सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको हो।
इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार आइतबार साँझदेखि परेको अविरल वर्षापछि करिब दुई मिटर सडक भासिएको हो। लगातार वर्षा भइरहेका कारण माथिबाट लेदो बगिरहेको छ, जसले सडक मर्मत तथा खुलाउने कार्यमा कठिनाइ उत्पन्न गरेको प्रहरीले जनाएको छ।
सडक खुलाउन चरिकोट सडक डिभिजन कार्यालयले भासिएको स्थानमा गिट्टी र माटो हालेर मर्मत गर्ने प्रयास गरिरहेको भए पनि निरन्तर वर्षाका कारण काम प्रभावित भएको छ।
वर्षायाममा यस क्षेत्रमा सडक भासिने र पहिरो जाने समस्या दोहोरिने गरेको स्थानीय प्रशासनले जनाएको छ। केही साना चारपांग्रे सवारीसाधन र मोटरसाइकललाई भने ठेलेर पहिरो क्षेत्र पार गराइएको छ।
सडक अवरुद्ध भएपछि चीनबाट भन्सार प्रक्रिया पूरा गरी नेपालतर्फ आउँदै गरेका तथा नेपालबाट चीनतर्फ जाने मालवाहक कन्टेनरहरू बाटोमै रोकिएका छन्। सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन सम्बन्धित निकायले प्रयास जारी राखेको जनाएको छ।











