मनकामना एकता फाउण्डेशनद्धारा तिजमिलन (दरखाने) कार्यक्रम सम्पन्न ।
मुम्बई। भारतको मुम्बईस्थित प्रवासी नेपालीहरुको सक्रिय संस्था मनाकामना एकता फाउण्डेशनले आईतबार तिजमिलन (दरखाने) कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
हरेक वर्ष जस्तै यो वर्ष पनि हरितालिका तिजको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा करिब ७०० जना नेपालीहरु सहभागी भई शुभकामना साटासाट गरेका थिए । मुम्बई शहरस्थित मेवार बाटिका हल मिरारोड (ईष्ट) मा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि मिरा मायन्दरका पूर्व MLA नरेन्द्र मेहता हुनुहुन्थ्यो । यसैगरि अतिथिहरु नेपाली प्रवासी महासंघका सल्लाहकार भरत रावल, डिवी रावल, पूर्व महासचिव पूर्ण कुँवर, सगरमाथा फाउण्डेशनका सुनिल बराल, शुसिला शर्मा, जमुना खत्री, मिरा मायन्दर शिवसेना गढ प्रमुख UBT राजेन्द्र थलारी, नेपाल कामदार युनियन संघका अध्यक्ष मास्टर थापा, नेजस पश्चिम भारतका पूर्व अध्यक्ष मिन बोहोरा, सुनाखरी महिला समाजका महासचिव रजनी थापा, मुक्तिनाथ फाउण्डेशनका उपाध्यक्ष सरिता गिरी र तुलसीराम घिमिरेको पनि उपस्थिति रहेको थियो ।
संस्थाका महासचिव केशव काफ्ले र उर्मिला क्षेत्रीको संचालनमा भएको कार्यक्रममा कलाकार लोक तथा दोहोरी गायक अलिफ खानले पनि आफ्नो प्रस्तुति दिएका थिए ।
चाडपर्वको बेलामा आयोजना गरिने यस्ता कार्यक्रमले आफ्नो कला संस्कृतिको जगेर्ना हुनुका साथै प्रवासी नेपालीहरु बिच आपसी सद्भाव कायम हुने विश्वास लिएको फाउण्डेशनका अध्यक्ष मोतिलाल न्यौपानेले बताउनुभयो ।
मनकामना एकता फाउण्डेशनले विगत १० वर्षदेखी मुम्बईमा रहेर प्रवासी नेपालीहरुका हितमा काम गर्दैै आईरहेको छ ।











