प्रतिनिधि सभा सदस्य निर्वाचनमा ३४८६ उम्मेदवारी दर्ता ।
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ मा देशका १६५ निर्वाचन क्षेत्रमा ३४८६ उम्मेदवारी दर्ता भएको छ। माघ ६ गते देशभर एकैपटक मनोनयन पत्र दर्ता सम्पन्न भएको हो। कूल ३४८६ उम्मेदवारीमध्ये ३०८९ पुरुष, ३९६ महिला तथा अन्य १ जना रहेकाे निर्वाचन आयाेगले जनाएकाे छ ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दाबी विरोधमा उजुरी दिने र सोही दिनको दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचवुझ एवम् निर्णय गरी माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिने आयाेगले जनाएकाे छ ।
यसैगरी माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयाेगद्धारा जारी विज्ञप्तीमा भनिएकाे छ ।











