विपद् सम्बन्धी सूचना दिन निःशुल्क १२३४ नम्बर सञ्चालनमा, सम्बन्धित जिल्लाको DEOC सँग सिधा सम्पर्क हुने
काठमाडौं। नेपाल सरकार, गृह मन्त्रालयले विपद् सम्बन्धी सूचना, समस्या, गुनासो तथा सुझावका लागि निःशुल्क टेलिफोन नम्बर १२३४ सञ्चालनमा रहेको जनाएको छ। उक्त नम्बरमा फोन गर्दा सम्बन्धित जिल्लाको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC) सँग सिधा सम्पर्क हुने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयका अनुसार बाढी, पहिरो, भूकम्प, हावाहुरी, डढेलो, अविरल वर्षा, हिमपहिरो, हिमताल विस्फोट, खडेरी, चट्याङ तथा शीतलहरजस्ता विपद्का घटनाबारे जानकारी गराउन, समस्या राख्न वा गुनासो तथा सुझाव दिन नागरिकले १२३४ नम्बरमा निःशुल्क फोन गर्न सक्नेछन्।
मन्त्रालयले विपद्का बेला समयमै सूचना दिन, सरकारी निकायबाट जारी हुने पूर्वसूचना तथा चेतावनीको अनिवार्य पालना गर्न र आफू सुरक्षित रहँदै समुदायलाई पनि सचेत गराउन आग्रह गरेको छ। हाल मन्त्रालयले "सतर्क समुदाय, सुरक्षित नेपाल -१२३४ लाई सम्झनुहोस्" भन्ने जनचेतनामूलक अभियान पनि सञ्चालन गरिरहेको छ।











