ताल्तुङ्ग मा.वि.को ५२औं वार्षिकोत्सव समारोह सम्पन्न


ताल्तुङ्ग मा.वि.को ५२औं वार्षिकोत्सव समारोह सम्पन्न

पाल्पा । रिब्दीकोट गाउँपालिका वडा नं. ८, पेलाचौरमा रहेको ताल्तुङ्ग मा.वि.ले आफ्नो ५२औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न गरेको छ । 
आईतबार विद्यालय प्राङ्गणमा एक भव्य समारोहबिच वार्षिकोत्सव मनाईएको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर कामीको अध्यक्षता, प्रमुख अतिथि पाल्पा क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य सांसद माननीय डा. माधव बहादुर थापा, विशिष्ट अथिति रिब्दीकोट गाउँपालिकाका प्रमुख नारायण बहादुर कार्की, वडा अध्यक्ष चुरा बहादुर छहरी, वडा सदस्य मोहनसिंह राना, प्रधानाध्यापक रिता कुमारी राना लगायत विभिन्न समिति मा रहनु भएका पुर्व तथा वर्तमान  पदाधिकारीहरु ,अक्षयकोष दाताहरू, छिमेकी विद्यालयका शिक्षकहरु , यस बिद्यालयमा अध्यापन गराउनु भएका पुर्ब र वर्तमान शिक्षकहरु, सम्पुर्ण अभिभावक ज्यु हरु तथा विद्यार्थी भाइबहिनीहरुको उपस्तिथि  रहेको थियो ।

कार्यक्रममा वक्ताहरुले विद्यालयलाई शुभकामना तथा विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गर्दै विद्यालयको शिक्षालाई अझै गुणस्तरीय र व्यवहारिक बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । शिक्षक, अभिभावक तथा सरोकारवाला निकायको संयुक्त पहलबाट यस विद्यालयलाई नमुना विद्यालयको रुपमा विकसित गर्दै लैजान सकिने राय प्रस्तुत गरिएको थियो ।

सो कार्यक्रममा विशिष्ट अतिथि नारायण बहादुर कार्कीले रु. एक लाखको अक्षयकोषको पनि स्थापना गर्नुभएको छ । साथै अन्य दाताहरुले पनि विद्यालयलाई आफु सक्दो सहयोग गरि योगदान दिनुभएको छ ।

कार्यक्रममा विद्यार्थीहरुले मौलिक पोशाक सहित सांस्कृतिक कला, नृत्य प्रदर्शन गरेका थिए । विद्यालयमा वार्षिकोत्सवको अवसर पारेर विभिन्न खेल तथा प्रतियोगिता संचालन गरिएका थिए । उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण, अक्षय कोष छात्रावृत्ति वितरण तथा विद्यालयलाई योगदान दिनुभएका व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।

साथै यस विद्यालयमा अध्यापन गराउनु भएका पुर्ब शिक्षकहरु निरज अर्घाली र कुल बहादुर राना  लाई बिदाइ तथा सम्मान कार्यक्रम  गरिएकाे थियाे ।

उक्त विद्यालयमा करिब २०० विद्यार्थी अध्ययनरत छन् ।