पर्यटन र संस्कृति प्रवर्द्धनका लागि ‘दोस्रो तिलोत्तमा कोरा–२०२६’ साइकल यात्रा, करिब २०० जनाको सहभागिता


पर्यटन र संस्कृति प्रवर्द्धनका लागि ‘दोस्रो तिलोत्तमा कोरा–२०२६’ साइकल यात्रा, करिब २०० जनाको सहभागिता

रुपन्देही । पर्यटन प्रवर्द्धन, स्थानीय कला–संस्कृतिको संरक्षण तथा सामाजिक विकाससँगै स्वस्थ जीवनशैलीप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले तिलोत्तमा राइडर्सको आयोजनामा ‘दोस्रो तिलोत्तमा कोरा–२०२६’ साइकल यात्रा आयोजना गरिएको छ।

श्रावण २ गते शनिबार आयोजित साइकल यात्रामा विश्व साइकल यात्री पुष्कर शाह प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्। करिब ५५ किलोमिटर दूरी तय गरिने उक्त साइकल यात्रामा विभिन्न क्षेत्रका गरी करिब २०० जना साइकल यात्री तथा साइकलप्रेमीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

साइकल यात्रामार्फत तिलोत्तमा तथा आसपासका पर्यटकीय क्षेत्रको पहिचान र प्रवर्द्धन गर्नुका साथै स्थानीय कला, संस्कृति र सम्पदाको संरक्षणमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको छ। त्यस्तै, साइकलको प्रयोगलाई प्रोत्साहन गर्दै वातावरण संरक्षण, सामाजिक विकास र स्वस्थ जीवनशैलीको महत्वबारे समुदायमा सचेतना फैलाउने कार्यक्रमको लक्ष्य रहेको छ।

यस किसिमका साइकल यात्राले पर्यटन प्रवर्द्धनसँगै स्वास्थ्य, वातावरण र सामाजिक क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास आयोजक तिलोत्तमा राइडर्सले लिएको छ।