लायन्स क्लब अफ बुटवल तिनाउद्वारा वृक्षारोपण तथा मलजल कार्यक्रम सम्पन्न


लायन्स क्लब अफ बुटवल तिनाउद्वारा वृक्षारोपण तथा मलजल कार्यक्रम सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल तिनाउको आयोजनामा बुटवल उपमहानगरपालिका-३, ज्योतिनगरस्थित दुर्गा मन्दिर परिसरमा आइतबार वृक्षारोपण तथा मलजल कार्यक्रम सम्पन्न भएको छ।

वातावरण संरक्षण, हरियाली प्रवर्द्धन, स्वच्छ हावापानीको सुनिश्चितता, पहिरो न्यूनीकरण, मन्दिर परिसरको सौन्दर्यकरण तथा जैविक सन्तुलन कायम गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका करिब २५ वटा बिरुवा रोप्नुका साथै  बिरुवामा मलजल तथा संरक्षणसम्बन्धी कार्य गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक ३२५ पी नेपालका जीएसटी कोर्डिनेटर लायन प्रकाश श्रेष्ठले वातावरण संरक्षणका लागि वृक्षारोपण मात्र पर्याप्त नभई बिरुवाको नियमित संरक्षण र स्याहार-सम्भार पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो। उहाँले यस्ता सेवामूलक कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्दै लायन्स क्लबले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

विशेष अतिथिका रूपमा एरिया सचिव लायन राजु भण्डारी, जोन चियरपर्सन तथा पूर्व क्लब अध्यक्ष लायन भरत गैरे, डिष्ट्रिक चिफ लायन अंकित गिरी तथा जोन कोर्डिनेटर लायन कृष्ण पुनको उपस्थिति रहेको थियो। वक्ताहरूले वृक्षारोपणलाई अभियानका रूपमा अघि बढाउनुपर्ने, रोपिएका बिरुवाको संरक्षणमा सबैको साझा दायित्व रहने तथा लायन्स क्लबले यस्ता सेवामूलक र सामाजिक गतिविधिलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमको संयोजन लायन अंकित गिरी र लायन नारायण रानाभाटले गर्नुभएको थियो। कार्यक्रममा क्लबका सदस्यहरू, पदाधिकारीहरू तथा दुर्गा मन्दिर व्यवस्थापन समितिका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

क्लब अध्यक्ष लायन सुदिप न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव लायन मुकेश पोख्रेलले सञ्चालन गर्नुभएको थियो। समापनका अवसरमा अध्यक्ष न्यौपानेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, अतिथिहरू, मन्दिर व्यवस्थापन समिति तथा सम्पूर्ण सहभागीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै लायन्स क्लब अफ बुटवल तिनाउले आगामी दिनमा पनि समाज हितका उदाहरणीय तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।