कामिरिता शेर्पाले फेरि बनाए इतिहास, ३२ औँ पटक सगरमाथा आरोहण


कामिरिता शेर्पाले फेरि बनाए इतिहास, ३२ औँ पटक सगरमाथा आरोहण

काठमाडाैं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही कामिरिता शेर्पाले फेरि एकपटक नयाँ इतिहास रचेका छन्। उनले आइतबार बिहान विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्दै ३२ औँ पटक शिखरमा पुग्ने विश्व कीर्तिमान कायम गरेका हुन्।

५६ वर्षीय कामिरिता बिहान करिब १० बजेर १२ मिनेटमा शिखरमा पुगेको आरोहण व्यवस्थापन कम्पनी सेभेन समिट ट्रेक्सले जनाएको छ। सफल आरोहणपछि उनी आफ्नो टोलीसहित आधार शिविरतर्फ फर्किने क्रममा रहेका छन्।

‘एभरेष्ट म्यान’ भनेर परिचित कामिरिता शेर्पा सगरमाथा सबैभन्दा धेरै पटक आरोहण गर्ने व्यक्तिका रूपमा विश्वभर परिचित छन्। उनले सन् १९९४ मा पहिलो पटक सगरमाथा चढेका थिए। त्यसयता उनले लगातार नयाँ कीर्तिमान बनाउँदै आएका छन्।

पर्वतारोहण क्षेत्रमा उनको योगदानलाई नेपालका लागि मात्रै होइन, अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायका लागि पनि प्रेरणादायी मानिन्छ। अहिले काठमाडौंमा उनको स्वागतको तयारीसमेत भइरहेको बताइएको छ।

लाक्पा शेर्पाको पनि नयाँ विश्वकीर्तिमान

यसैबीच, महिला पर्वतारोही लाक्पा शेर्पाले पनि नयाँ इतिहास रचेकी छन्। उनले ११ औँ पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीतर्फ सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने विश्व कीर्तिमान कायम गरेकी हुन्।

पर्यटन विभागका अनुसार लाक्पा शेर्पा आज बिहान करिब ९ बजेर ३० मिनेटमा शिखरमा पुगेकी थिइन्। ‘माउन्टेन क्विन’ उपनामले परिचित उनी संखुवासभाको मकालु क्षेत्रकी हुन् र नेपाली महिला पर्वतारोहणको प्रेरणादायी व्यक्तित्वका रूपमा चिनिन्छिन्।