मन्त्री बिना पनि बस्न सक्ने गरी संसदीय समिति नियमावली संशोधन हुँदै


मन्त्री बिना पनि बस्न सक्ने गरी संसदीय समिति नियमावली संशोधन हुँदै

काठमाडाैं । प्रतिनिधिसभाले संसदीय समितिको बैठक सञ्चालनलाई थप सहज बनाउने उद्देश्यसहित नयाँ नियमावली ल्याउने तयारी गरेको छ। प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक सञ्चालन गर्न सकिने भएको छ।

प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

मस्यौदा नियमावलीको नियम १७८ अन्तर्गत विषयगत समितिको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ। प्रस्तावित उपनियम ४ मा विधेयकमाथिको छलफलका क्रममा मन्त्रीको उपस्थिति अनिवार्य रहने उल्लेख गरिएको छ। तर अन्य कार्यसूचीमा भने आवश्यकताअनुसार मात्रै मन्त्री उपस्थित हुनुपर्ने व्यवस्था राखिएको छ।

हाल कायम रहेको प्रतिनिधिसभा नियमावली २०७९ मा भने समितिका सबै प्रकारका छलफलमा मन्त्री उपस्थित हुनुपर्ने प्रावधान छ। नयाँ संशोधनमार्फत उक्त व्यवस्था परिमार्जन गर्न लागिएको हो।

संसदीय समितिका बैठकहरू मन्त्रीको समय अभावका कारण पटक–पटक प्रभावित हुने गरेको भन्दै यस्तो व्यवस्था आवश्यक भएको रास्वपाका नेताहरूले बताएका छन्। उनीहरूका अनुसार विधेयकसँग सम्बन्धित छलफलमा मात्रै मन्त्री अनिवार्य उपस्थित हुने व्यवस्था गरिएपछि समितिको कामकारबाही प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।