नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण अवधि पुन: थप
ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक (नवीकरण) गर्ने अवधि पुनः थप गरेको छ। पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा सम्पन्न सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो।
पार्टीका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरबाट प्राप्त सुझाव तथा मागलाई ध्यानमा राख्दै क्रियाशील सदस्यता अध्यावधिक गर्ने अन्तिम म्याद २०८३ साल जेठ २८ गते राति १२:०० बजेसम्म कायम गर्ने निर्णय गरेको जनाएको छ।
नेपाली कांग्रेसले पछिल्ला दिनहरूमा सदस्यता अध्यावधिकको कार्य देशभर उत्साहजनक रूपमा अघि बढिरहेको उल्लेख गर्दै विभिन्न तहबाट थप समय आवश्यक रहेको जानकारी प्राप्त भएपछि अवधि थप गरिएको स्पष्ट पारेको छ।
समितिले निर्धारित समयभित्र अनिवार्य रूपमा आफ्नो क्रियाशील सदस्यता अध्यावधिक गर्न सम्पूर्ण सम्बन्धित सदस्य तथा कार्यकर्तालाई आग्रह गरेको छ।
यस निर्णयसँगै सदस्यता नवीकरण गर्न बाँकी रहेका कार्यकर्ताहरूलाई आवश्यक प्रक्रिया पूरा गर्न थप अवसर प्राप्त भएको नेपाली कांग्रेसले जनाएको छ।











