रास्वपा सभापति रवि लामिछानेलाई नयाँ दिल्लीमा भव्य स्वागत, प्रवासी नेपालीसँग अन्तरक्रिया


रास्वपा सभापति रवि लामिछानेलाई नयाँ दिल्लीमा भव्य स्वागत, प्रवासी नेपालीसँग अन्तरक्रिया

नयाँ दिल्ली। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँचदिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन्। दिल्ली विमानस्थलमा उनलाई भाजपाका नेताहरूले भव्य स्वागत गरेका थिए।

भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भएको यस भ्रमणलाई नेपाल–भारत सम्बन्ध तथा दुई देशका प्रमुख राजनीतिक दलहरूबीचको संवाद विस्तारका रूपमा हेरिएको छ। भ्रमणका क्रममा लामिछानेले भाजपाका शीर्ष नेताहरू, भारत सरकारका उच्च अधिकारीहरू तथा विभिन्न राजनीतिक व्यक्तित्वहरूसँग भेटवार्ता गरेका छन्।

भ्रमणकै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसँग भएको भेटमा नेपाल–भारत सम्बन्ध, विकास सहकार्य तथा क्षेत्रीय सहयोगका विविध विषयमा छलफल भएको बताइएको छ। भारतीय पक्षले नेपाललाई आफ्नो प्राथमिक साझेदारका रूपमा हेर्ने दृष्टिकोण पुनः व्यक्त गरेको जनाइएको छ।

दिल्लीमा आयोजित प्रवासी नेपालीहरूसँगको अन्तरक्रिया कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको थियो। भारतका विभिन्न राज्यबाट आएका नेपालीहरूले लामिछानेलाई स्वागत गर्दै नेपालको सुशासन, विकास र राजनीतिक सुधारप्रतिको आफ्नो समर्थन व्यक्त गरेका थिए।

राजनीतिक विश्लेषकहरूका अनुसार यस भ्रमणले रवि लामिछानेको अन्तर्राष्ट्रिय राजनीतिक पहुँच र कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाएको छ। प्रवासी नेपाली समुदायमाझ देखिएको उत्साह र समर्थनले उनको राजनीतिक प्रभाव र लोकप्रियतामा थप ऊर्जा थपिएको चर्चा भइरहेको छ।

विश्लेषकहरूको भनाइमा लामिछानेलाई पछिल्लो समय नयाँ पुस्ताका एक ऊर्जावान तथा उदाउँदा राजनीतिक नेताका रूपमा हेरिन थालेको छ। भारत भ्रमणले उनको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारसँगै नेपालको समकालीन राजनीतिमा उनको भूमिकाबारे थप चर्चा सुरु भएको छ।