बुटवलको भान्जा स्टोर्स विरुद्ध राजस्व चुहावट सम्बन्धी मुद्दा : तीन करोड बढी बिगो मागदावी ।


बुटवलको भान्जा स्टोर्स विरुद्ध राजस्व चुहावट सम्बन्धी मुद्दा : तीन करोड बढी बिगो मागदावी ।

रुपन्देही । बुटवलको भान्जा स्टोर्स एण्ड हाउसका विरुद्ध तीन करोड बढी विगो माग दावी गर्दै राजस्व अनुसन्धान कार्यालय बुटवलले उच्च अदालत तुल्सीपुर बुटवल ईजलासमा मुद्दा दायर गरेको छ।

राजस्व अनुसन्धान विभागका प्रवक्ता एवं उपमहानिर्देशक कृष्ण कुमारी श्रेष्ठले प्रेस विज्ञप्ती जारी गर्दै बुटवल उपमहानगरपालिका वडा नं. ७ राधाकृष्ण पथस्थित भान्जा स्टोर्स एण्ड हाउसले फर्मका नाममा मालवस्तु पैठारी तथा खरिद गर्ने तर अभिलेख नराखी विक्रि वितरण गरेको, राजस्व अनुसन्धान कार्यालयमा पेश गरेको मूल्य अभिवृद्धि कर विवरण भन्दा धेरै परिमाणमा पसल र गोदाममा सामान फेला परेको र अनुसन्धानको क्रममा उक्त सामान चोरी पैठारी गरी ल्याएर विक्री वितरणका लागि राखिएको पुष्टी भएकोले उक्त विगो माग दावी गरिएको उल्लेख छ। 

राजस्व कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेका अनुसार प्रतिवादी बरकत अलि मियाँको पसल र गोदाममा फेला परेका मालवस्तुको भन्सार चोरी पैठारीतर्फको ७५ लाख ९३ हजार ५५७, मूल्य अभिवृद्धि करतर्फको २३ लाख २७ हजार ४५९ र आयकर तर्फको ५६ लाख ४५ हजार २६५ गरी १ करोड ५५ लाख ६६ हजार २८१ रुपैयाँ विगो कायम गरिएको थियो।

घिमिरेले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐनको विगो जफत वा असुल गर्ने प्रावधान अनुसार विगोको शत प्रतिशत जरिवाना रकम थप गरेर ३ करोड ११ लाख ३२ हजार ५६२ रुपैयाँ असुल उपरको मागदावी सहित उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गरिएको जानकारी दिए। भान्जा स्टोर्स एण्ड हाउसले श्रृङगारका सामग्रीहरु थोकमा विक्री वितरण गर्दै आएको छ।

प्रेस विज्ञप्ती हेर्नुहाेस् :