असल शैक्षिक अभ्यासमा नवीन औद्योगिक मा वि नेपालमै दोस्रो स्थानमा
रुपन्देही। बुटवल देनिगरस्थीत नवीन औद्योगिक माध्यमिक विद्यालय असल शैक्षिक अभ्यासमा नेपालको दोस्रो विद्यालयको रूपमा छनौट भएको छ ।
नेपाल सरकारले हरेक वर्ष उत्कृष्ट सामुदायिक विद्यालयबाट असल शैक्षिक अभ्यास छनोट गर्ने क्रममा यो वर्ष बुटवल नवीन औद्योगिक माध्यमिक विद्यालय दोस्रो बन्न सफल भएको हो ।
आर्थिक वर्ष २०८०।८१ को लागि नेपाल भरका उत्कृष्ट ४२ विद्यालयहरूका बिच असल शैक्षिक अभ्यास मापदण्डको आधारमा हेरेर नवीन औद्योगिक माध्यमिक विद्यालय दोस्रो हुन सफल भएको हो।
सरकारले एक प्रदेशबाट ६ वटा विद्यालयको दरले ७ प्रदेशका ४२ वटा उत्कृष्ट विद्यालय छनौट चरणमा पुर्याएको थियो । ती विद्यालयको असल अभ्यास मापदण्डका १६ वटा सुची पार गर्दे असल शैक्षिक अभ्यास नवीन औद्योगिक मावि बुटवल देशभरको दोस्रोमा पर्न सफल भएको विद्यालय प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले जानकारी दिए ।
उनले विद्यालयको नतिजा, भौतिक पुर्वधार, शिक्षक व्यवस्थापन,विद्यार्थीहरूको रेकर्ड व्यवस्थापन लगायतका १६ वटा असल शैक्षिक अभ्यासमा मापदण्ड पुरा गरेर दोस्रो बन्न सफल भएको बताए। शिक्षा मन्त्रालयले उक्त सफल अभ्यास भएको प्रमाणपत्र केही समय पछि प्रदान गर्नेछ । नवीन औद्योगिक माविमा अङ्ग्रेजी माध्यमबाट कक्षा १२ सम्म अध्यापन हुने गर्दछ भने प्राविधिक शिक्षातर्फ सिभिल इन्जिनियरिङ अध्यापन हुने गर्छ।
यो विद्यालयमा विज्ञान, कानुन, शिक्षा, व्यवस्थापन समूहमा गरी ५ हजार भन्दा धेरै विद्यार्थीहरूले अध्ययन गरिरहेका छन्।











