विभिन्न विश्वविद्यालयमा उपकुलपति पदका लागि २१८ आवेदन


विभिन्न विश्वविद्यालयमा उपकुलपति पदका लागि २१८ आवेदन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न विश्वविद्यालयका उपकुलपति पदका लागि प्राप्त आवेदन संख्या सार्वजनिक गरेको छ। मन्त्रालयले एकीकृत कार्यविधि, २०८३ अनुसार प्रकाशित सूचनाको आधारमा आवेदन दर्ता भएका विश्वविद्यालयहरूको विवरण सार्वजनिक गरेको हो।

मन्त्रालयद्वारा जारी सूचनाअनुसार सबैभन्दा बढी आवेदन त्रिभुवन विश्वविद्यालयमा परेको छ। त्रिभुवन विश्वविद्यालयका लागि ५० आवेदन प्राप्त भएका छन्। त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान ३८/३८ आवेदन दर्ता भएका छन्।

यस्तै, राजर्षि जनक विश्वविद्यालयमा २७, मध्यपश्चिम विश्वविद्यालयमा २०, सुदूरपश्चिम विश्वविद्यालयमा १९, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १५ तथा लुम्बिनी बौद्ध विश्वविद्यालयमा ११ आवेदन प्राप्त भएका छन्।

मन्त्रालयका अनुसार विभिन्न विश्वविद्यालयहरूमा गरी कुल २१८ आवेदन प्राप्त भएका छन्। आवेदन सम्बन्धी जानकारी सार्वजनिक गर्दै मन्त्रालयले प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउन सूचना प्रकाशित गरिएको जनाएको छ।