पीएम कप छनोटकाे पहिलाे दिन २ खेल: रुपन्देही र बर्दिया विजयी


पीएम कप छनोटकाे पहिलाे दिन  २ खेल: रुपन्देही र बर्दिया विजयी

रुपन्देही । प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा छनोट खेल सुरु भएका हुन् ।

सोमबारदेखि सुरु छनोट खेलमा रुपन्देही र बर्दिया विजयी भएका छन् । रुपन्देहीले कपिलवस्तुलाई ७ विकेट र बर्दियाले पश्चिम नवलपरासीलाई पनि ७ विकेटले नै पराजित गर्दै जित निकालेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको कपिलवस्तुले निर्धारित ५० ओभरमा ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय ८ रनको झिनो योगफल बनायो । उसका लागि रौनक श्रीवास्तवले ३१, मोहम्मद सहबाज मुसलमानले २४ र शिव कुँवरले २० रन बनाए । बलिङमा रुपन्देहीका मौसम ढकालले ५ तथा अजय चौहानले २ विकेट लिए ।

जवाफमा रुपन्देहीले १२ ओभर ३ बलमा ३ विकेट गुमाएर १ सय ९ रन बनाउँदै जित निकाल्यो । उसको जितमा देव खनालले अविजित ७५ रनको अर्धशतकीय पारी खेले । यस्तै, आकाश त्रिपाठीले १८ रन जोडे । बलिङमा कपिलवस्तुका महेश भरले २ तथा जीवन मौर्यले १ विकेट लिए । खेलमा मौसम ढकाल प्लेयर अफ द म्याच भए ।

एक्स्ट्राटेकमा भएको अर्को खेलमा सुरुमा ब्याटिङ गरेको नवलपरासीले ४९ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय ३५ रन बनायो । उसका लागि जितेन्द्र केवटले ५५, भरतकुमार मगरले ४२, सम्राट भुसालले ३० र दीलिप कुर्मीले २४ रन बनाए । बलिङमा बर्दियाका स्लोप चौधरी र निखिल खत्रीले ३-३ विकेट लिए ।

जवाफमा बर्दियाले ४२ ओभर ३ बलमा ३ विकेट गुमाएर २ सय ३९ रन बनाउँदै जित निकाल्यो । उसको जितमा सुमित श्रेष्ठले १ सय ८ रनको शतकीय पारी खेले । यस्तै, नितेष न्यौपानेले ४२ तथा हर्षल भण्डारी र अशिम गिरीले समान २९ रन जोडे । बलिङमा नवलपरासीका सुमित थापाले २ तथा भरतकुमार मगरले १ विकेट लिए । खेलमा सुमित श्रेष्ठ प्लेयर अफ द म्यच भए ।

माघ २४ गतेसम्म चल्ने छनोट खेलको विजेता र उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्लेयर अफ द म्याचले ११ हजार १ सय ११ र प्रत्येक दिनको म्यान अफ द म्याचले १ हजार १ सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जनाए । यस वर्षको प्रधानमन्त्री कप चैत्रमा आयोजना गर्ने गरी क्यानले तयारी गरिरहेको छ ।