मगर समुदायकाे एक छुट्टै पर्व: अङ्सपुरुस खेर्ने ।


मगर समुदायकाे एक छुट्टै पर्व:  अङ्सपुरुस खेर्ने  ।

राेल्पा। अठार मगराँत क्षेत्रका मगर लगायत गैरमगर समुदायले विशेष गरी चन्द्रमास र सौर्यमासको आधारमा चाडपर्वहरु मान्ने गर्दछन् । चन्द्रमासमा चैते अष्टमी, बैशाख पुर्णिमा, जेठ पुर्णिमा, ऋषितर पुर्णिमा, दवारा (कात्तिके औँसी) र मंसिर पुर्णिमा इत्यादि मान्ने गर्दछन् भने सौर्यमासको आधारमा माघे सक्रान्ति (नयाँ वर्ष, उदेलीको बिदाइसँगै उभेलीको स्वागत र चेलीबेटी पुज्ने पर्व साथै गाजाबाजा बन्द गर्ने समय), जेठ सक्रान्ति ( माघे सक्रान्ति बन्द गरिएका गाजाबाजा फुकाउने), असार सक्रान्ति (जमिन पुज्ने), साउन/तिवार सक्रान्ति (आगो पुज्ने र लुतो फाल्ने), भदौ/घिवाँ-घ्युवाँरे सक्रान्ति (घ्यु खाने) र बाह्र भदौ इत्यादि हुन् । 

प्रकृति पुजकहरूले बाह्र भदौ किन र कसरी मान्छन् ?
यिनै पर्वहरु मध्ये बाह्र भदौलाई पनि मूख्य पर्वको रुपमा नै मान्ने गरिन्छ । बाह्र भदौ मान्ने मूख्य कारणहरूः 

१. अङ्सपुरुस खेर्ने 
      वर्षभरिमा लेकबेसी गर्ने र देशप्रदेश घुम्ने भएकोले आफूसँग नरही आत्मा वा सातोहरु त्यही ठाउँ ठाउँमा डुल्दै हराउने र आइतापाइता (मर्नका लागि सुरसार) सार्दै गरेको आत्माहरुलाई जम्मा गर्दै ग्रहदशा शान्त गर्ने कार्यलाई अंशपुरुष खेर्ने भनिन्छ । यो कार्य ठाउँ अनुसार फरक–फरक रुपले मान्ने र गर्ने गरिन्छ । धेरै जसो ठाउँमा परिवारका प्रत्येक सदस्यले वर्ष नाघेका एक–एक ओटा जिनो भालेको रगत सेवन गरेर अङ्सपुरुस खेर्ने गर्दछन् । 
रम्मा(झाँक्री), धामी, बैदाङ्गी÷जैसिउ (नकाम्ने तर झाँक्री र धामीले गर्ने सबै काम गर्ने अनि दिन लगन लगायत साइतहरू जुराउने व्यक्ति अथवा मगर समुदायको पण्डित) र मुथुङ (साधारण व्यक्ति जसले कुनै तन्तर मन्तर गर्दैन) हरूले पनि यो पर्व भव्यताका साथ मनाउछन् । 

२. तन्तर मन्तर जाँच्ने
       रम्मा, धामी र बैदाङ्गीहरूले गर्ने गरेका तन्तरमन्तरहरू ठिक छ छैन् भनेर जाँच्ने गर्दछन् । बाह्र भदौको दिन रम्माहरुको छेर्ला (झालामाला), धामीहरूको घण्ट, पन्यु र बैदाङ्गीहरूको थाती (मन्तर भएको नेपाली कागजमा निगालोले मसिमा चोबेर लेखिएको र जीवजन्तुहरूको छालाले गाता हालेको पुस्तक)लाई धुपधुवाँर गरी पुजेर जाँच गरेमा नलाग्ने तन्तरमन्तरहरू पनि लाग्ने विश्वासले यो कार्य गर्ने गर्दछन् । साथै गाउँमा सामुहिक झाँक्री बसेर गाउँ घर र गाउँलेहरूको ग्रहदशा फार्ने साथै गौना फाल्ने गरेर झाँक्री राम पनि बनाउने गर्दछन् ।

३. जटिबुटी खेर्ने 
      रम्मा, धामी र बैदाङ्गीहरूले तन्तर मन्तर मात्र गर्दैनन् । उनीहरुले जटिबुटीले बिरामीहरुको उपचार गर्छन् । विशेष गरी बैदाङ्गीहरु त यस क्षेत्रका बैद्यहरु भन्दा पनि फरक नपर्ला किनकि उनीहरुले तन्तर मन्तरले मात्र नभएर जटिबुटीद्धारा पनि बिरामीहरुलाई निको पार्ने गर्दछन् । 
     

बाह्र भदौका दिन खागर (हिमाल), मधेश (तराई) र चारैदिशाबाट जटिबुटी खेर्ने गर्दछन् । नजिक हुने जटिबुटी आफै गएर खन्ने र टाढा टाढा भएका जटिबुटीहरु गुराहा (बाघ वा सिँह) बनेर जाने र खन्ने गर्थे भन्ने भनाईहरू अझैसम्म पनि सुन्नमा आउँछन् । भने नसक्नेले पुरानै जटिबुटीहरूलाई उपासेरै धुप धुवार गरी पुजेर राख्ने गर्दछन् ।
     

जसरी नलाग्ने तन्तर मन्तर बाह्र भदौको दिन जाँचे लाग्छ । त्यसरी नै त्यसै दिन केही दिन अघिदेखि उपासेर (खाना नुन पानि नखाएर) जटिबुटीको जरामा गई चारैदिशा धजा अछेता राखी धुपधुवाँरेर जिनो भालेको रगत दिई पुजेर खनेको जटिबुटी असाध्यै लाग्ने गर्दछ भन्ने विश्वासले यो कार्य गर्ने गर्दछन् । 

४. टिम्मुर टिप्ने 
      यो काम मुथुङहरूको काम हो । बाह्र भदौ भन्दा अगाडि टिम्मुर टिप्नु हुँदैन । री (मैलो÷जोखना) लाग्दैन् र यता उता हिड्दा पानी लाग्छ भन्ने विश्वास रहिआएको छ । यसै दिनमा टिपेको टिम्मुर दसहरामा खरखजनासँगै पुजेमा बिना तन्तर मन्तर दुःख बिमार हुँदा खाएमा निको भइन्छ भन्ने परम्परागत विश्वास पनि छ । र यसै दिन देखि नै टिम्मुर टिप्न फुकुवा पनि हुन्छ ।


५. बाबियो काट्ने    
     बाह्र भदौका दिन काटेको बाबियोको कुचोले झारफुक गर्दा लाग्ने र अरु दिनमा काटेको बाबियोको कुचो भन्दा यसै दिने काटेको बाबिायोको कुचो खप्ने हुन्छ भन्ने जन विश्वासले यस दिन जसरी भए पनि बाबियो काट्ने गर्दछन् ।  


बाह्र भदौका दिन हुने अन्य जनश्रुति र मान्यताहरू 
      बाह्र भदौका दिन माछाहरु जिङ (लेकाली चोँया)को जरा खान आफुहरू बस्ने नदीको मुहान लेकसम्म पुगेर फर्कने अनि लेक चडेका र पाखा निस्केका पाहा र भ्यागुताहरू बाह्र भदौ कै दिनदेखि बेँशी वा तलतिरको नदीनालाहरूमा झर्ने वा बग्ने गर्दछन् भन्ने विश्वास पनि छ । त्यसैले माछा र पाहाहरूलाई पासोमा पार्न डडिया र तुम (डडिया जस्तै चोयालाई बनाएको पासो) थाप्न बाह्र भदौ कै दिनदेखि सुरु गर्ने गर्दछन् । यसैगरी यसै दिनलाई उदेली मास सुरु भएर फागुन ११ गतेमा अन्त्य हुने र फागुन १२ देखि कुर बसेका माछाहरू फुट्ने र खोलाको बहावको उल्टो अर्थात् उभोतिर चढ्ने भएकोले टिप (सिङ्गै चोयालाई बुनेर बनाएको ठूलो आकारको तुम) थाप्ने सुरु गरिन्छ । जलचर शिकारको लागि सुरुवाती दिन पनि हो । त्यही दिनबाट भदौ ११ गतेसम्म उभेली मास सुरुवात भएको पनि मान्ने गरिन्छ । 

      यिनै कुराहरुको कारणले एक वर्षमा बाह्र भदौ भव्यसाथ मान्ने गरिन्छ । यो अठार मगराँत क्षेत्रको समुदाय र जनजिवनले भोग्दै आएको रहनसहन र संस्कार हो । यस संस्कारले इतिहास र संस्कृतिलाई त्यहाँको जिवनयापनसँगै परम्परागत रुपमै भए पनि जीवित पार्दै आइरहेको छ । यो एउटा जीवित इतिहास पनि हो । 

लेखक: बाेम बहादुर घर्ती मगर , राेल्पा