नदीमा डुबेर एक बालकको मृत्यु, एक जना बेपत्ता


नदीमा डुबेर एक बालकको मृत्यु, एक जना बेपत्ता

धनगढी । कञ्चनपुरमा नदीमा नुहाउने क्रममा एक किशोरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पुनर्वास नगरपालिका–९ स्थित दोदा नदीमा नुहाउन गएका पुनर्वास नगरपालिका–८ का १४ वर्षीय रोहित दौडे दुर्घटनामा परेका हुन्।

प्रहरीका अनुसार नदीमा डुबेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि पुनर्वास टाउन अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकले परीक्षणपछि मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, बाजुरामा पनि खोलामा नुहाउन गएका एक बालक बेपत्ता भएका छन्। हिमाली गाउँपालिका–१ मैतार्नास्थित कुवाडी खोलामा साथीहरूसँग नुहाउने क्रममा १४ वर्षीय नवराज थापा बगेर बेपत्ता भएका हुन्।

स्थानीयवासी र सुरक्षाकर्मीले उनको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ।