काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए) को अध्यक्ष तथा सदस्य पदका लागि आवेदन खुला गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्य व्यक्तिलाई दरखास्त पेश गर्न आह्वान गरेको हो।
मन्त्रालयद्वारा प्रकाशित सूचनाअनुसार प्राधिकरणको अध्यक्ष पदमा एक जना तथा सदस्य पदमा चार जना नियुक्त गरिनेछ। इच्छुक उम्मेदवारले २०८३ साल फागुन ५ गते कार्यालय समयभित्र आवेदन पेश गर्नुपर्ने उल्लेख गरिएको छ।
मन्त्रालयले उम्मेदवारका लागि आवश्यक न्यूनतम योग्यता, आवेदन फाराम तथा संलग्न गर्नुपर्ने कागजात सम्बन्धी विस्तृत विवरण आफ्नो आधिकारिक वेबसाइट www.mocit.gov.npमा उपलब्ध गराएको जनाएको छ।
यसैगरी, सञ्चार मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि समेत आवेदन खुला गरेको छ। उक्त पदमा एक जना नियुक्त गरिनेछ।
सरकारले सूचना तथा सञ्चार क्षेत्रको नियामक निकायमा नयाँ नेतृत्व चयन प्रक्रिया अगाडि बढाएको भन्दै यसलाई दूरसञ्चार क्षेत्र सुधार र नीतिगत कार्यान्वयनसँग जोडेर हेरिएको छ।