तिलोत्तमाको दूरगामी सहकारी संकटमा : करिब २५ करोड अपचलनको आशंका

तिलोत्तमा नगरपालिका- ३ स्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीका अध्यक्ष र सचिव सम्पर्कविहीन भएपछि बचतकर्ताले कार्यालय घेराउ गरेका छन् ।
सहकारी आर्थिक संकटमा फसेपछि संस्थाका अध्यक्ष, सचिव र व्यवस्थापक मोवाइल स्वीच अफ गरी फरार भएका छन् भने सहकारीको कार्यालयमा उपाध्यक्षसहितका कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुले निर्णय गरी प्रहरी र वडा कार्यालयको रोहवरमा तालावन्दी गरेका छन् ।
करिब १९ सय शेयर सदस्य रहेकाे उक्त सहकारी संकटमा परेपछि बचतकर्ताहरुले बचत रकम फिर्ताको माग गर्दै निवेदन दिएका छन् । संस्थामा करिव २२ देखि २५ करोड रुपियाँ अपचलन भएको आशंका गरिएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्रबहादुर रानाले पीडितहरू निवेदन लिएर आएको तर रजिष्टार कार्यालयबाट आएपछि मात्रै प्रक्रियामा लैजाने बताए । उक्त सहकारी प्रदेश रजिस्टार कार्यालयमा दर्ता भएकोले पीडितहरू देउखुरी जाने तयारीमा छन् ।