कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदातलको आदेश
काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो।
स्वर्णलक्ष्मीको पैसा हिनामिना प्रकरणमा बैशाख १३ गते पक्राउ परेकी उनीविरुद्ध मंगलबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको थियो । सोही मुद्दाउपर थुनछेक बहसपछि धरौटीमा छाड्ने आदेश भएको अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले बताए ।
उनीविरुद्ध ठगीका साथै संगठित अपराधको कसुर लगाइएको थियो। उनीविरुद्ध ८ महिनाअघि नै पक्राउ पूर्जी जारी भएपनि प्रहरीले पक्राउ गरेको थिएन । उनले संसदमा विदा स्विकृत गराई तलब भत्ता समेत लिएकी थिइन् ।
उनी सहकारीको सञ्चालक भएको अवस्थामा २ करोड ४० लाख ४४ हजार हिनामिना भएको भन्दै सोहीअनुसार उनीविरुद्ध मागदाबी लिइएको छ। बयानको क्रममा उनले सहकारीको माइन्यूटमा भएको हस्ताक्षर आफ्नो भएको स्वीकार गरेकी छिन्।











