डोटीको छहरा झरनामा बढ्यो पर्यटकको आकर्षण, आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो
डोटी । डोटी जिल्लाको जोरायल गाउँपालिका-२ मा अवस्थित पवित्र तथा रमणीय पर्यटकीय स्थल छहरा झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख आकर्षणको केन्द्र बन्दै गएको छ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस झरनामा दैनिक रूपमा विभिन्न स्थानबाट पर्यटकहरू भ्रमणका लागि पुग्ने गरेका छन्। हरियाली वातावरण, स्वच्छ पानीको झरना तथा मनमोहक दृश्यले पर्यटकहरूलाई लोभ्याउने गरेको छ।
विशेषगरी बिदाका दिन तथा चाडपर्वका अवसरमा यहाँ पर्यटकहरूको उल्लेखनीय घुइँचो लाग्ने गरेको स्थानीयहरूले बताएका छन्। प्राकृतिक सम्पदाले भरिपूर्ण छहरा झरनाले डोटी जिल्लाको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
आवश्यक पूर्वाधार विकास र प्रचार–प्रसारलाई थप प्रभावकारी बनाउन सके यस क्षेत्रलाई सुदूरपश्चिमकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीय सरोकारवालाहरूको विश्वास रहेको छ।
प्राकृतिक सौन्दर्यको अनुपम उपहारका रूपमा रहेको छहरा झरना अहिले डोटीको गौरव मात्र नभई पर्यटकहरूको रोजाइको गन्तव्य बन्दै गएको छ।











