आन्तरिक उडानमा नयाँ वायुसेवा कम्पनी डाँफे आउँदै


आन्तरिक उडानमा नयाँ वायुसेवा कम्पनी डाँफे आउँदै

काठमाडौं । एक पछि अर्को वायुसेवा कम्पनी आर्थिक संकटले बन्द भइरहँदा नेपाली उड्डयन क्षेत्रमा नयाँ कम्पनी सञ्चालनमा आउने भएको छ । आन्तरिकतर्फ नियमित व्यावसायिक उडान गर्ने गरी डाँफे एयरलाइन्स सञ्चालनमा आउन लागेको हो ।
कम्पनीले वायुयान सञ्चालन प्रमाणपत्र (एओसी)का लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिइसकेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले एओसी दिने प्रक्रिया अगाडि बढाउन लागेको जानकारी दिए ।
यो कम्पनीको फिजिबिलिटी स्टडी भइसकेको छ । अब कमिटी बनाएर एओसीको प्रक्रिया अगाडि बढ्नेछ, उनले भने, कम्पनीले पर्यटन मन्त्रालयबाट लिएको लाइसेन्सका आधारमा हामी एओसी दिन्छौं ।
प्राधिकरणले प्रबन्धक भरतराज पराजुलीको संयोजकत्वमा गठन गरेको समितिले डाँफे एयरलाइन्सलाई एओसी दिन सिफारिस गरेको छ । कम्पनीले पेस गरेको व्यावसायिक योजना सारभूतरुपमा प्रभावग्राही रहेको सिफारिस गरिन्छ, समितिको प्रतिवेदनमा भनिएको छ ।
कम्पनीले एक वर्ष अगाडि नै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट लाइसेन्स लिएको थियो । मन्त्रालयले लाइसेन्स दिएपनि प्राधिकरणले एओसी नदिइ उडान गर्न पाइँदैन ।
एक दशकअघि बन्द भएको मकालु एयरको नाम परिवर्तन गरी नयाँ समूहले डाँफे एयरलाइन्स सञ्चालन गर्न लागेको हो।
कम्पनीले एटीआर ७२ सिरिजको जहाजमार्फत माउन्टेन फ्लाइटका साथै नेपालगञ्ज, सुर्खेत, पोखरा, विराटनगर, भद्रपुर, सिमरा, धनगढी, जनकपुर, भरतपुर, भैरहवा, तुम्लिङटार लगायत गन्तव्यमा उडान गर्ने व्यावसायिक योजना बुझाएको छ ।
हाल मुलुकमा सुगम गन्तव्यतर्फ बुद्ध, यती र श्रीले नियमित व्यावसायिक उडान गर्दै आएका छन् भने दुर्गम गन्तव्यमा तारा, समीट र सीताले उडान गर्ने गरेका छन् ।