विश्वकर्मा जनकल्याण समाज नेपालको संस्थागत परिचय तथा क्षेत्र विस्तार कार्यक्रम सम्पन्न ।
पाल्पा । विश्वकर्मा जनकल्याण समाज नेपालको संस्थागत परिचय तथा क्षेत्र विस्तार कार्यक्रम रिब्दीकोट गाउँपालिका वडा नं. ८, भानीचौरमा आइतबार सम्पन्न भएको छ ।
रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रिब्दीकोट गाउँपालिका वडा नं. ८ का निवर्तमान वडाध्यक्ष नारायण बहादुर लाम्टाङे, स्वतन्त्र पत्रकार डिआरजी सुमन, दलित अभियान्ता झविन सुनाम रहनुभएको थियो । पिएसएम नेपालका प्रबन्ध निर्देशक अमर पुन, प्रमुख कार्यकारी निर्देशक चन्द्रमणी भट्टराई, सम्पादक खुमराज बस्याल, बजार व्यवस्थापक मनिषा पुन, स्थानिय बुद्धिजिवी, संस्थाका सदस्य लगायतको सहभागीता रहेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष खगेन्द्र बहादुर विश्वकर्माले गर्नुभएको थियो भने कार्यक्रमको संचालन यसै संस्थाका महासचिव अमित वि.क. गर्नुभएको थियो ।
संस्थाका कार्यकारी निर्देशक सुरेन्दर रसाईलीको स्वागत मन्तव्यबाट सुरु गरिएको सो कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले संस्थाले गरेका सामाजिक कार्यहरुको प्रशंसा गर्दै संस्थालाई अगाडी बढाउन सबै सदस्यले खेल्नुपर्ने भुमिकाको बारेमा प्रष्ट पारे । साथै संस्थाको उन्नति, प्रगतिको लागि पनि शुभकामना व्यक्त गरेका थिए ।
सोही कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले संस्थाको लागि आफ्नो साथ र सहयोग सदैव रहेको व्यक्त गर्नुभयो । संस्थाद्धारा संचालन गरिने सामाजिक कार्यक्रममा आवश्यक सहजीकरण गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि तथा संस्थालाई सहयोग गर्नुहुने विभिन्न व्यक्तिहरुलाई टिका, माला, सम्मान पत्र तथा मायाको चिनोद्धारा सम्मान गरिएको थियो ।
विश्वकर्मा जनकल्याण समाज नेपालको संस्थागत परिचय
विश्वकर्मा जनकल्याण समाज नेपालको स्थापना करिब १२ वर्ष अगाडी भारतको चण्डीगढमा स्थापना भएको हो । रोजगारीको सिलसिलामा भारतमा पुगेका खगेन्द्र वि.क., अमित वि.क., डिल बहादुर वि.सि., गणेश वि.क. लगायत केही नेपालीहरुले सो संस्था स्थापना गरेका थिए । भारतको सरकारी निकायमा आधिकारिक रुपमा दर्ता गरिएको सो संस्थामा करिब ८०० सक्रिय सदस्यहरु रहेका छन् । सामान्य संस्थाबाट सुरु गरिएको सो संस्थाले अहिले विश्वकर्माबाबा बहुउद्देश्यीय सहकारी संस्था नामको सहकारी संस्था पनि संचालन गरेको संस्थाका अध्यक्ष खगेन्द्र विश्वकर्माले बताउनु भयो ।
कोभिड १९ को महामारी पछि बैदेशिक रोजगारीबाट आफ्नो रोजगारी गुमाएर केही सदस्यहरु नेपाल फर्केपछि संस्थाका कामकारवाही र सामाजिक कार्यक्रममा केही कम भएतापनि हाल आएर नेपालमै बसोबास गर्ने सदस्यहरुको विशेष पहलमा पाणिनी गाउँपालिका वडा नं. २ मा मुख्य कार्यालय रहने गरि विश्वकर्मा जनकल्याण समाज नेपालको नाममा सो संस्था दर्ता भएको छ । शाखा विस्तारका क्रममा नेपालभर विस्तार गरिने योजनाका साथ पहिलो चरणमा सैनामैना नगरपालिका र रिब्दिकोट गाउँपालिमा पनि दर्ता भईसकेको यस संस्थाका उपाध्यक्ष डिल बहादुर वि.क.ले बताउनुभयो ।











