पाल्पा छहरामा रसाली बन्धुहरुको कुलपुजा सम्पन्न
पाल्पा । रसाली बन्धुहरुको सामुहिक कुलपुजा पाल्पा जिल्लाको रैनादेवी छहरा वडा नं. ४ मा रहेको कुल मन्दिरमा सम्पन्न भएको छ । प्रत्येक ६ वर्षमा गरिने उक्त पुजा शनिबार विधिवत रुपमा बाजागाजा सहित सम्पन्न भएको हो ।
सो कार्यक्रममा पाल्पा, गुल्मी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची लगायत आसपासका जिल्लामा बसोबास गर्नुहुने रसाली बन्धुहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा सहभागी हुँदै रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले सम्पूर्ण रसाली बन्धुहरुलाई कुलपुजाको अवसरमा शुभकामना प्रदान गर्दै आफ्नो परम्परागत संस्कृतिलाई जगेर्ना गर्दै लैजानुपर्ने कुरा व्यक्त गर्नुभयो । सो अवसरमा पालिकाबाट गर्न सकिने सहयोगका लागि आफु तयार रहेको पनि बताउनुभएको छ ।
यसैगरि कुलपुजालाई अझ व्यवस्थित बनाउनका लागि पुजास्थलमा बाटो, पानी तथा आवश्यक पूर्वाधार निर्माणका लागि विभिन्न तहको सरकारसँग आवश्यक समन्वय गरि प्रक्रिया अगाडी बढाइने रसाली कुलपुजा समितिका अध्यक्ष पदम रसालीले बताउनुभएको छ । कुलपुजाको आफ्नै महत्व र विशेषता रहेको बताउदै यसलाई निरन्तरता दिन अध्यक्ष रसालीले सबै बन्धु, दाजुभाईहरुलाई आग्रह पनि गर्नुभएको थियो ।
नेपालमै सबैभन्दा धेरै पुस्ताहरुको एकैठाउँमा कुलपुजा गरिने पाल्पा छहराका रायमाझी बन्धुको कुलपुजा पछिको दोस्रो ठुलो कुलपुजा रसाली बन्धुहरुको रहेको सचिव दानबहादुर रसालीले बताउनु भयो ।











