कृषिक्षेत्रमा आत्मनिर्भर बन्दैै रिब्दीकोट गाउँपालिका : मुख्य सडकमा भने समस्या ।
पाल्पा । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका जिल्लामै नमुना पालिकाको रुपमा अगाडी बढेको पालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभएको छ । शिक्षा, स्वास्थ्य, यातायात, कृषि, पर्यटन लगायत विकासका पूर्वाधारमा यो पालिका लक्ष्यअनुसार अगाडी बढेको जानकारी दिनुभयो । 'म बनाउछु, मेरो रिब्दीकोट' भन्ने नारालाई पछ्याउदै पालिकामा विभिन्न कार्यक्रमहरु संचालन भएका छन् ।
एसियाकै सबैभन्दा ठुलो त्रिशुलले प्रख्यात भैरवस्थान मन्दिर, वडा नं. ५ मा रहेको जलेश्वर मन्दिर, वडा नं. ८, फेकको रिङसिङडाँडा, वडा नं. ७ को कान्ताश्रम मन्दिर र कालिका गढी गुरासेडाँडा, वडा नं. १, ख्याहाको सेल्फीडाँडा रिब्दीकोट गाउँपालिकाका मुख्य पर्यटकिय स्थलहरु हुन् । सो स्थानहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड लाग्न थालेको छ भने शिक्षा, स्वास्थ्य तथा खानेपानीको क्षेत्रमा विभिन्न परियोजना र शिविरहरु संचालन गरेको पालिका अध्यक्ष कार्कीले बताउनुभएको छ ।
यसैगरि यो पालिका कृषिक्षेत्रमा आत्मनिर्भर बन्दै गईरहेको छ । ५ वर्षे रणनितिक योजना अनुसार कृषि क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । यस क्षेत्रको अधिकांश खेतियोग्य जमिनमा व्यवसायिक रुपमै खेती गरिएको पाईन्छ । सिंचाईको समस्या रहेको भएतापनि यस क्षेत्रमा थोपा सिंचाई कार्यक्रममार्फत खेती भईरहेको छ ।
व्यवसायिक कृषिमार्फत यहाँका कृषकहरुको जिवनस्तर उकासिदै गईरहेको पाईएको छ । कृषि तथा पशुजन्य उत्पादनहरु बिक्रि वितरणबाट आम्दानीको स्रोतलाई अझ बढी परिचालन गर्दै जाने योजना रहेको अध्यक्ष कार्कीले बताउनुभएको छ ।
पाल्पा अर्घाखाँची सडकखण्डमा पर्ने यो पालिकाको मुख्य सडकमा भने समस्या देखिएको छ । सडकको अधिकाशं क्षेत्रको कालोपत्रे भत्किएर खाल्डा परेको हुनाले सवारी साधन चलाउन पनि अत्यन्तै समस्या रहेको यस क्षेत्रका चालकहरुको गुनासो रहेको छ । मुख्य सडकमा समस्या रहेपनि पालिकाको भित्री सडकहरुमा भने सुधार भएको पाईन्छ । कतिपय स्थानमा कालोपत्रे र आरसिसि ढलान गरिएको छ भने अन्य सडकहरुमा पनि स्तरोन्नतिको काम संचालन भईरहेको छ । पालिकाको क्षेत्राधिकारभित्र पर्ने सडकमा विस्तारका कामहरु भईरहेको भएतापनि मुख्य सडकमा भने काम सुचारु हुन नसकेको जनप्रतिनिधीहरुले बताएका छन् । धेरैपटक प्रदेश सरकारलाई गुनासो राखिएको भएतापनि सुनुवाई नभएको पालिका अध्यक्षले जानकारी दिनुभएको छ ।
सबै वडा कार्यालयहरुको आफ्नै प्रशासनिक भवनबाट आम सर्वसाधारणहरुले सेवा लिएको र कार्यालयबाट प्रवाह हुने सेवामा सन्तुष्टि रहेको सर्वसाधारणहरुले बताएका छन् ।
निर्वाचनमा प्रस्तुत घोषणापत्र बमोजिमको प्रतिबद्धता कार्यान्वयन गर्दै अति विपन्न, अशक्त, असाहाय लक्षित सेवाप्रवाहमा प्राथमिकता दिँदै गाउँपालिका अध्यक्षको लागि राज्यबाट प्रवाह गरिने निजि सेवा सुविधा नलिई सेवा प्रदान गरेको स्थानियहरुले बताएका छन् ।











