तीनकुने घटनाः प्रहरीले सरकारी वकिललाई बुझायो अनुसन्धान प्रतिवेदन, दुर्गा प्रसाईँलाई ५ कसुरमा मुद्दा चलाउन राय
काठमाडौँ । प्रहरीले तीनकुने घटनाको अनुसन्धान सकेको छ । प्रहरीले आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ । प्रतिवेदन अध्ययन गरी आइतबार मुद्दा लैजाने तयारी भएको सरकारी वकिल कार्यालयले जनाएको छ ।
प्रहरीले १०८ जनालाई मुद्दा चलाउनुपर्ने राय सरकारी वकिल समक्ष पेस गरेकाे छ ।
उक्त घटनापछि प्रहरीले १८६ जनालाई पक्राउ गरेको थियो । जसमध्ये ९६ जना केही दिनमै रिहा भएका थिए । प्रहरीले ३७ जनालाई हाजिरी जमानीमा छोडेको छ । प्रहरीको हिरासतमा अहिले ५३ जना रहेका छन् भने ९ जना फरार रहेका छन् ।
जसमध्ये दुर्गा प्रसाईंलाई संगठित अपराध सहित पाँच वटा कसुरमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय दिएको एक प्रहरी अधिकारीले जानकारी दिए । जसमा कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग, राजद्रोह र आपराधिक उपद्रव कसुर रहेका छन् ।
त्यस्तै राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र राप्रपा महामन्त्री एवं सांसद धवलशमशेर राणालाई राजद्रोह र आपराधिक उपद्रवमा मुद्दा चलाउन राय दिइएको छ ।
राजसंस्था पुनस्थापनाको माग गर्दै राजावादीहरुले चैत १५ गते तीनकुनेमा प्रदर्शन गरेका थिए । सो क्रममा एक पत्रकार सहित दुई जनाको मृत्यु भएको थियो भने तोडफोड र आगजनीको कारण करोडौँको क्षति भएको थियो ।











