श्रमिक दिवसकाे अवसरमा बुटवल उपमहानगरपालिकाद्धारा सम्मान कार्यक्रम ।


श्रमिक दिवसकाे अवसरमा बुटवल उपमहानगरपालिकाद्धारा सम्मान कार्यक्रम ।

बुटवल । अन्तर्राष्ट्रिय श्रमिक दिवसको पुर्वसन्ध्यामा बुटवल उपमहानगरपालिकाले बुटवलमा सालको पात बेच्ने,मकै पोल्ने तथा ईरिक्सा चलाउने महिलाहरूलाई नगदसहित सम्मान गरेको छ ।

बुधबार बुटवल उपमहानगरपालिकाले एक कार्यक्रमकाबीच बुटवलमा सालको पात बेच्ने १० जना,पोल्ने १० जना र ईरिक्सा चलाउने १० जना गरी ३० जना महिलाहरूलाई जनही १० हजारका दरले सम्मान गरेको हो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले चर्को घाम,चिसो र दिनरात नभनी जोखिमसहितको श्रम गर्ने श्रमिकको सम्मान गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिकाले गतबर्षदेखि सम्मान गर्न थालेको बताए ।

श्रमको सम्मान गर्ने परिपाटीको विकास नहुँदा मुलुकमा बेथिति बढेको भन्दै नगर प्रमुख पाण्डेयले श्रमिकहरूलाई कुराले नभएर बास्तविक रूपमै श्रमको सम्मान गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिकाले पात बेच्ने,मकै पोल्ने र ईरिक्सा चलाउने महिलाहरूलाई नगदसहित सम्मान गर्न सुरु गरेको उल्लेख गरे ।

कार्यक्रममा ईरिक्सा ब्यवसायी सिताराम महतोले बुटवल उपमहानगरपालिकाले सडकमा मकै पोलेर जिविकोपार्जन गर्ने, जंगलबाट पात टिपेर ल्याई बजारमा बिक्रीवितरण गर्ने तथा ईरिक्सा चलाउने महिला श्रमिकहरूलाई नगदसहित सम्मान गर्नु खुसीको कुरा भएको भन्दै यस्ताखाले कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । असंगठित क्षेत्रमा कार्यरत महिला श्रमिकहरूलाई सम्मान गरेकोमा सम्मानित महिलाहरूले खुसी ब्यक्त गरेका थिए ।