संसद विघटन गरेर सुशीला कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने सहमति


संसद विघटन गरेर सुशीला कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने सहमति

काठमाडाै । राष्ट्रपति कार्यालय शितल निवासमा शुक्रबार बिहानबाटै भएको छलफलले प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति गरेको छ।

आन्दोलनरत जेन-जी युवाहरूको मागअनुरूप सुरूमै संसद विघटन गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

उनले आज राति ९ बजे अन्तरिम सरकार प्रमुखका रूपमा कार्कीको शपथग्रहण गराइने बताए। राष्ट्रपति रामचन्द्र पौडेल र जेन-जी युवाहरूबाट प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश कार्कीबीच कसको सिफारिसमा संसद भंग गर्ने भन्नेबारे कुरा मिल्न नसकेपछि प्रधानमन्त्री नियुक्तिमा विलम्ब भइरहेको थियो।

राष्ट्रपति पौडेलले कार्कीलाई 'म तपाईंलाई प्रधानमन्त्री नियुक्त गर्छु' र प्रधानमन्त्री भएपछि पहिलो मन्त्रिपरिषद बैठकबाटै संसद विघटन र निर्वाचन मिति निर्णय गरी ल्याउनू भनेका थिए तर आन्दोलनरत जेन-जीका प्रतिनिधिहरू संसद विघटन गरेर मात्र अन्तरिम सरकार गठन हुने मागमा अडिग रहे। त्यही आधारमा वार्ता लम्बिँदै गएको थियो।

अन्तत: राति जेन-जीकै मागअनुरूप संसद विघटन गरेर कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको हो।