सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा


सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं - नेपाल कानुन समाज र जेन्जीका समूहहरूले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा जेन्जी अगुवा रविकिरण हमालले देशको वर्तमान संवैधानिक तथा राजनीतिक संकटबाट बाहिर निस्कन सर्वपक्षीय सरकार गठन गरी संविधान पुनर्लेखन गर्नु नै आजको एकमात्र निकास भएको दाबी गरेका छन्। उनले अहिलेको संरचनाभित्र रहेर गरिने चुनाव वा सतही सुधारले समस्या समाधान नगर्ने स्पष्ट पार्दै सरकारद्वारा घोषणा गरिएको फागुन २१ गतेको निर्वाचनले निकास दिनुभन्दा देशलाई अझै जटिल संकटतर्फ धकेल्ने चेतावनी दिए l

भाद्र २३ र २४ गते नेपालको नवोदित पुस्ताबाट देखिएको विद्रोहलाई सामान्य असन्तुष्टि होइन, राज्य संरचनाविरुद्धको गहिरो राजनीतिक चेतनाका रूपमा वक्ताहरूले व्याख्या गरेका छन्। उक्त विद्रोहको भावना र मागलाई राज्यले स्वीकार गरी त्यसअनुसार अगाडि नबढे पुनः देश अशान्ति, द्वन्द र अस्थिरताको चक्रमा फस्ने गम्भीर जोखिम रहेको उनको भनाइ थियो। उनले अहिलेको संकट समाधानका लागि पुरानै सोच, पुरानै पात्र र पुरानै संरचनाबाट समाधान खोज्नु आत्मघाती हुने समेत उल्लेख गरेका छन्। 

जेन्जी अगुवा किरणले  सुशीला कार्की र ओमप्रकाश अर्यालको समूहले चेन्ज विद्रोहलाई अपहरण गरेको आरोप लगाएका छन्। विद्रोह अपहरण गर्दै सत्ता कु गरेर कार्कीहरू आएपछि एकातर्फ दमनकारी शक्तिहरू अझै सशक्त रूपमा उदाउँदै जाने र अर्कोतर्फ जेन्जी विद्रोहलाई अपराधीकरण गर्ने तथा देशद्रोही करार गर्ने योजनाबद्ध दुष्प्रयास भइरहेको उनको दाबी थियो।

आन्दोलनको बेला चर्चामा आएकी किशोरी कार्कीले प्रधानमन्त्रीले जेन्जी विद्रोहका मुद्दा सम्बोधन गर्न नसक्ने सरकारमा बसिरहनुको कुनै अर्थ नरहेको बताएकी छन्। जेन्जी अगुवार सुनिल सिंह, अजय सोडारी, सुरेन्द्र घर्ती, सरिश्मा थापा लगायतले कार्यक्रममा सम्बोधन गरेका थिए।

उनीहरूको अनुसार अबको वास्तविक निकास जेन्जी विद्रोही शक्तिहरू, राजनीतिक दलहरू र प्रबुद्ध वर्गबीचको व्यापक सर्वपक्षीय सहमतिबाट सर्वपक्षीय सरकार गठन गरी संविधान पुनर्लेखन गर्नु हो। यही प्रक्रियाबाट मात्रै देशलाई संवैधानिक, राजनीतिक र सामाजिक रूपमा संकटमोचन गर्न सकिने धारणा व्यक्त गरेका छन्।