तिलोत्तमामा अब डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ सञ्चालन हुने
बुटवल । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले तिलोत्तमा नगरपालिकालाई डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न अनुमति दिएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार निर्माण गर्न २५ लाख बजेट विनियोजन गरिसकेको छ । सिटिइभिटीले तिलोत्तमा नगरपालिका आफैंले सञ्चालन गर्नेगरी डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ कार्यक्रमका लागि ४०/४० जनाको कोटा समेत निर्धारण गरेको छ । सिटिइभिटीको पत्र प्राप्त भएसँगै अब पूर्वाधार निर्माण र अस्पतालसँग सम्झौता गरेर कार्यक्रम सञ्चालन प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ ।
तिलोत्तमाले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल वा भैरहवाको भीम अस्पतालसँग सम्झौता गरिने जनाएको छ । तिलोत्तमा नगर पालिकाका नगर प्रमुख रामकृष्ण खाणले नगरपालिकाले आर्थिक वर्ष २०८२ ।८३ को नीति तथा कार्यक्रम र वजेटमै प्राविधिक शिक्षालय संचालनका लागि नीति गत रुपमा निर्णय गदै रकम विनियोजन गरेको बताउनु भयो ।
सिटिइभिटीको असार १७ गते बसेको २०९ औं बैठकले तिलोत्तमा नगरपालिकालाई पूर्वाधार निर्माणको लागि मनसाय पत्र दिइ आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । सोहीअनुसार सिटिइभिटीले नगरपालिकालाई पत्र पठाउँदै पूर्वाधार निर्माण प्रक्रिया अघि बढाउन अनुमति दिएको हो ।
प्राविधिक शिक्षालय सञ्चालन गर्न तिलोत्तमा नगरपालिकाले २०७७ सालमै वडा नं १४ को खैरियामा भवन निर्माण गरिसकेकोमा त्यसमा फार्मेसी र नर्सिङ कार्यक्रम सञ्चालनका लागि थप पूर्वाधार बनाउनु पर्नेछ ।
नगरपालिकाको ३ करोड ७७ लाख लगानीमा निर्माण गरेको भवन लामो समय प्रयोगविहीन हुँदा चर्को आलोचना हुँदै आएको थियो । साविकको नर्मदेश्वर प्रा वि रहेको स्थानमा एक वर्षको अवधिमा नगरपालिकाले सुविधासम्पन्न ३ तले भवन निर्माण गरेको थियाे ।











