नेपालका राजेन्द्र थलारी भारतमा शिवसेनाबाट चुनाव लड्दै


नेपालका राजेन्द्र थलारी भारतमा शिवसेनाबाट चुनाव लड्दै

मुम्बइ, भारत । भारतमा नगरसेवक पदमा पहिलो पटक एक नेपालीले चुनाव लड्ने भएका छन् । 

भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बईको मिरा भाइन्दर नगरपालिका १९ डी मा नगरसेवक पदमा नेपालका राजेन्द्र मोती थलारीले आफ्नो उम्मेद्वारी दिएका हुन् । 

शिवसेना पार्टीमा आबद्ध रहेर एक योग्य, निडर, कुशल, अनुशासित, सामाजिक र राजनीतिक योद्धाको छवि बनाउन सफल भएका थलारीलाई पार्टीले सो पदका लागि चुनावमा जान टिकट दिएको जनाईएको छ । 

नेपाली भएर पनि लामो समय भारतमै रहेका उनले भारतिय नागरिक सरहको सबै हक अधिकार प्राप्त गरेका छन् । शिवसेना पार्टीको उद्धव बालासाहेब ठाकरे पक्षबाट थलारीले उम्मेदवारको टिकट पाएका हुन् ।

यहि जनवरी १५ तारिखका दिन हुने नगरसेवक पदको निर्वाचनमा चुनाव चिन्ह 'मशाल' मा भोट दिएर आफुलाइ जिताउन आव्हान गर्दै थलारीले प्रवासी नेपालीहरुलाइ सम्बोधन पनि गरेका छन् । 

नेपालको अछाम जिल्ला साँफेबगर नगरपालिका–९, बुढाकोटमा जन्मघर भएका थलारी लामो समयदेखी मुम्बईमा रहेर धेरै सामाजिक काममा अग्रसर रहेका छन् । उनले मुम्बईमा विभिन्न शिलसिलामा पुगेका नेपाली तथा गैरनेपालीहरुको हकहित लगायत अन्य समस्याहरुमा प्रत्यक्ष रुपमा काम गरेका छन् ।

विभिन्न संघसंस्थामा समेत आबद्ध भई धेरै काम गरिसकेका उनी नेपाली समाज कल्याण संघका पुर्व अध्यक्ष पनि हुन् ।