पाकिस्तानमाथि भारतीय सेनाकाे आक्रमण


पाकिस्तानमाथि भारतीय सेनाकाे आक्रमण

काठमाडौँ । भारतीय सेनाले गए राती पाकिस्तानमाथि सैन्य कारबाही गरेको छ। पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा सो आक्रमण गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ। यसलाई भारतीय सेनाले ‘अपरेसन सिन्दुर’ नाम दिएको छ। 

यसअघि पाकिस्तानी सञ्चारमाध्यमहरूले पाकिस्तानी सेनाका प्रवक्तालाई उद्धृत गर्दै भारतबाट क्षेप्यास्त्र आक्रमण भएको पुष्टि गरेका थिए। पाकिस्तानका विभिन्न स्थानमा विस्फोटको आवाज सुनिएको बताइएको छ।

भारतको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पहलगाममा २५ भारतीय र एक नेपाली नागरिकको ज्यान जाने गरी भएको हमलाको जवाफमा पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा आतङ्कवादी पूर्वाधारमा सैन्य कारबाही गरिएको जनाएको छ।

भारतीय सेनाले अतिवादी गतिविधि गरेको आरोपमा जैश ए–मोहम्मद र लस्करका शीर्ष नेतृत्व रहेका क्षेत्रलाई निशाना बनाएको र आक्रमणका लागि तिनै क्षेत्रहरू छनोट गरेको हो ।  तर, सैन्य ठेगानामा भने हमला नगरिएको भारतको भनाइ छ।  निसाना छनोटमा र कारबाहीको प्रकृतिमा निकै संयम अपनाइएको भारतले जनाएको छ।

‘अपरेसन सिन्दूर’का कारण हवाई उडानहरू अस्तव्यस्त भए । इंडिगो एयरलाइन्सले उत्तरी भारतको आकाशमा हवाई क्षेत्रमा आएको परिवर्तनका कारण कयौं उडान प्रभावित भएको बताएको छ । उसका अनुसार श्रीनगर, जम्मू, अमृतसर, लेह, चण्डीगढ, धर्मशाला र बीकानेरबाट आउने जाने सबै उडानहरू डिले गरिएको छ ।

‘अपरेसन सिन्दूर’ दिइएको र जसको जानकारी अमेरिका, बेलायत, साउदी अरेबिया, युएई र रुसलाई दिइएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

पाकिस्तानी सेनाले भने आफूले रोजेको समयमा आक्रमणको जवाफ दिने बताएको छ।