पाणिनीको पोखराथोक क्षेत्रका सयौँ नागरिक सहज फोनसेवाबाट वन्जित, पटौटी र रैनादेवीमा समेत सेवा प्रवाहमा समस्या
अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका वडा नं. २ का केही गाउँमा नेपाल टेलिकमको सेवामा समस्या देखिएको छ ।
साविकको पोखराथोक गा.वि.स वडा नं. ७, ८ र ९ अन्तर्गतका रजौसा, सिम्ले, पातल तथा जाबुने लगायतका स्थानमा नेपाल टेलिकमको नेटवर्क नै नदेखाउने, कतैकतै नेटवर्क देखिएपनि फोन नलाग्ने समस्या रहेको पाईएको छ ।
नेटवर्कको समस्याका कारण उनीहरु दैनिक जिवनमै प्रत्यक्ष असर परेको स्थानियहरुको गुनासो छ । नेटवर्क नै नआएपछि कसैसँग पनि फोनमा कुरा गर्न नपाईएको, इन्टरनेट मार्फत विभिन्न समाचार, सुचनाहरुबाट पनि आफुहरु बञ्चित हुन पुगेको स्थानियहरुले बताएका छन् ।
आकस्मिक रुपमा कोहि बिरामी हुँदा फोन गरेर एम्बुलेन्स समेत बोलाउन समस्या भएको उनिहरुको भनाइ रहेको छ ।
इन्टरनेटको प्रयोगबाट विभिन्न सामाग्री अध्ययन गर्ने सकिने भएतापनि नेटवर्कमा आएको समस्याका कारण आफ्नो शिक्षामा समेत प्रत्यक्ष प्रभाव परेको विद्यार्थीहरुले बताएका छन् ।
यस विषयमा धेरै गुनासो आएपछि वडा कार्यालयले समस्या समाधानका लागि पहल गरेको जनाएको छ । वडा अध्यक्ष चन्द्रकान्त पौडेलले सो समस्या समाधानका लागि नेपाल दुरसंचार प्राधिकरण समक्ष पत्र पठाई सकिएको जानकारी दिनुभयो । समस्या समाधानका लागि स्थानीय तहबाट गर्नुपर्ने सबै पक्रिया सहज गर्नको लागि आफु र स्थानिय बासीहरु तयार रहको प्रतिबद्धता जनाउनुभएको छ ।
सो स्थानका १६३ घरधुरीका करिब ४९० जनसंख्या यो समस्याबाट प्रत्यक्ष प्रभावित भएको वडा कार्यालयले जनाएको छ ।
स्थानिय तहबाट समस्यासहितको पत्र प्राप्त भईसकेको र सो समस्या समाधानका लागि प्रक्रिया अगाडी बढाईसकिएको नेपाल टेलिकमले जनाएको छ ।











