मिलन टोल विकास संस्थाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीकाे बाजी
रुपन्देही । तिलोत्तमा नगरपालिका-८ को चार नम्बरस्थित मिलन टोल विकास संस्थाको चुनावमा चारजना पदाधिकारीमा रास्वपाले क्लिन स्वीप गरेको छ ।
१५ सदस्यीय कार्यसमितिमा ४ पदाधिकारीसहित ४ सदस्य रास्वपाले जितेको छ भने सदस्यहरुमा ३ जना एमाले, रास्वपाकै प्यानलबाट राप्रपाका दुई जना र २ जना कांग्रेसबाट निर्वाचित भएका छन् ।
२७२ घरधुरी मतदाता रहेको चुनावमा २३३ मत खसेको थियो । अध्यक्षमा रास्वपाका रामाकान्त भुसालले १२४ मत पाएर विजयी हुँदा एमालेका कृष्ण चापागाईंले सय मत पाए ।
उपाध्यक्षमा पर्सुराम काफ्लेले १४५ मत पाउँदा गठबन्धनका कांग्रेसकी रिना बरालले ८१ मत पाइन् । सचिवमा रास्वपाका सीता तिवारीले ११९ मत पाएर विजयी हुँदा कांग्रेसका थम्मन गुरुङले १०५ मत पाए ।
कोषाध्यक्षमा रास्वपाका प्रतिक पाण्डे १२६ मत पाएर विजयी हुँदा एमालेकी बबी चापागाईंले ९८ मत पाएकी छन् ।
उक्त टोल नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेको घर भएको टोल हो भने कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँणको घर भएको वडा जोडिएको टोल हो ।
सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई हराउँदै दुई दलका जिल्ला अध्यक्षहरुको वडामा भएको टोल विकास संस्थाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी बाजी मारेको हाे ।
रास्वपाका स्थानीय नेता बुद्धि सापकोटाले हरेक संस्थामा सत्तारुढ दुई दलको सिण्डिकेटविरुद्ध अब टोल टोलबाट विद्रोह हुन लागेको नतिजाका रुपमा यो चुनावलाई बुझ्नुपर्ने बताए ।











