चेन्नईको वल्लुवर कोट्टममा प्रवासी नेपाली सम्पर्क मञ्च, भारतद्धारा नगर समिति गठन


चेन्नईको वल्लुवर कोट्टममा प्रवासी नेपाली सम्पर्क मञ्च, भारतद्धारा नगर समिति गठन

चेन्नई, भारत ।  राष्ट्रिय स्वतन्त्र पार्टी निकट प्रवासी नेपाली सम्पर्क मञ्च, भारत– तमिलनाडु राज्य समिति अन्तर्गत चेन्नई स्थित वल्लुवर कोट्टममा नगर समिति गठन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

फेब्रुअरी २२ मा भएको सो कार्यक्रममा मानबहादुर साउदको नेतृत्वमा नयाँ नगर समिति गठन गरिएको हो । कार्यक्रममा मञ्चका महामन्त्री श्री गोकुल शर्मा, सह–महामन्त्री श्री यादव पाण्डे तथा वरिष्ठ सल्लाहकार टेक बहादुर खड्का लगायत अन्य नगर समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । उहाँहरूको उपस्थितिले कार्यक्रमलाई थप प्रभावकारी, उत्साहजनक तथा प्रेरणादायी बनाएको आयोजकहरूले बताएका छन् ।

नवगठित नगर समितिको अध्यक्षमा सुरेन्द्र साउद, उपाध्यक्ष कल्पना बी.सी. सचिव लक्ष्मण साउद, कोषाध्यक्ष विशाल देउवा तथा सदस्यहरू इन्द्र वि.क., शंकर वि.क., सुरेश खड्का, दिलिप बाघ, बिर बहादुर बाघ, परि बलायर, शेर बहादुर दमाई, दल बहादुर खड्का चयन हुनुभएको छ ।

नेपालमा निर्वाचन नजिकिँदै गर्दा आफूहरू प्रत्यक्ष रूपमा निर्वाचनमा सहभागी हुन नसकेकोमा दुःख व्यक्त गरेका छन् । राज्यले विदेशमा रहेका नेपालीहरुलाई आम निर्वाचनमा समेट्न नसकेको हुँदा आफुहरु मत हाल्ने महत्वपूर्ण अधिकारबाट समेत बञ्चित हुनुपरेको सहभागीहरुले बताएका छन् । अब आ–आफ्नो स्थानबाट घरपरिवार, इष्टमित्र तथा शुभेच्छुकहरूलाई फोनमार्फत परिवर्तनको पक्षमा मतदान गर्न प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथै संगठनलाई आगामी दिनमा थप व्यवस्थित, सशक्त र क्रियाशील बनाउने लक्ष्यसहित जिम्मेवारी बाँडफाँड गरिएको स्रोतले जनाएको छ ।

कार्यक्रममा मन्तव्य राख्दै वक्ताहरूले संगठनलाई अझ सुदृढ, सक्रिय र अनुशासित ढंगले अगाडि बढाउँदै प्रवासी नेपालीहरूको हकहित, आपसी एकता र सहकार्यलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वरिष्ठ व्यक्तित्व मानबहादुर साउद तथा वरिष्ठ सल्लाहकार टेक बहादुर खड्काले संगठन सञ्चालनमा अनुशासन, पारदर्शिता र समन्वयको भूमिका अत्यन्त महत्वपूर्ण रहने बताउनुभयो । सबै सदस्यहरूलाई संगठनको विधान र मर्यादाभित्र रही जिम्मेवारीपूर्वक कार्य गर्न आग्रह गर्दै नवगठित नगर समितिलाई ऊर्जा, उत्साह र उत्तरदायित्वका साथ अघि बढ्न प्रेरित गर्नुभयो ।

कार्यक्रमको समापनमा नवगठित नगर समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै महामन्त्री गोकुल शर्मा ज्यूले शुभकामना मन्तव्य राख्नुभएको थियो । संगठनलाई आगामी दिनमा अझ गतिशील, प्रभावकारी तथा उदाहरणीय बनाउँदै लैजान सबैलाई एकजुट भएर अघि बढ्न आह्वान गर्नुभयो ।