सुकुम्वासी/भूमिहीनहरूको उचित व्यवस्थापनमा नेपाल प्रहरी
काठमाडौं, नेपाल सरकारले सुरू गरेको सुकुम्वासी/भूमिहीन व्यवस्थापन प्रक्रियामा उनीहरूको उज्जवल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चित गर्नका लागि नेपाल प्रहरी मानवीय संवेदनशीलता सहित परिचालित भएको छ ।
नेपाल सरकारले सुरू गरेको महत्वपूर्ण पहल अन्तर्गत अग्रपंक्तिमा रहेर नेपाल प्रहरीले अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै काठमाडौं उपत्यकाका थापाथली, गैरीगाउँ, मनोहरा खोला किनार लगायतका विभिन्न स्थानमा रहेका अव्यवस्थित रूपमा रहेको सुकुम्वासी बस्तीको व्यवस्थापनको कार्य गरिरहेको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्की तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक इश्वर कार्कीले अव्यवस्थित रूपमा रहेको सुकुम्वासी बस्तीको व्यवस्थापन कार्यको स्थलगत अवलोकन गर्नुभई त्यसबारे जानकारी समेत लिनुभएको थियो ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार वास्तविक पीडितको न्याय, अधिकार र सुरक्षित आवास सहितको भविष्य सुनिश्चित गर्ने कार्यमा नेपाल प्रहरी सदैव प्रतिवद्ध रहँदै आएको छ । वास्तविक सुकुम्वासी/भूमिहीनहरू एक जुट भएर राज्यले गर्न लागेको व्यवस्थापन कार्यमा सहयोग तथा सहकार्य गरी सुरक्षा निकायलाई समयमै सहि सूचना दिई आपसी सहयोग गरिदिनुहुन समेत नेपाल प्रहरी अनुरोध गरेकाे छ ।











