सुनाखरी नेपाली महिला समाजको आयोजनामा गोर्खा मेला सम्पन्न
मुम्बई, भारत । सुनाखरी नेपाली महिला समाजले एक कार्यक्रम बिच आइतबार गोर्खा मेला भब्य रुपमा सम्पन्न गरेको छ । भारतको आर्थिक राजधानी मुम्बई स्थित मिरारोड पुर्वमा रहेको कल्पत्रु क्लब हाउस, सृष्टि कम्पलेक्स सेक्टर ३ को सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रवासी नेपालीहरुलाइ एकजुट, आपसी सद्भाव, भाषा, कला, संस्कृति र भेषभुषाहरुको जगेर्ना गर्ने हेतुले बिगतको १५ बर्षदेखि निरन्तर गोर्खा मेला संचालन गर्दै आएको समाजकी अध्यक्ष विष्णु सिंह मोथेले जानकारी दिनुभयो ।
यो मेलामा नेपाली अर्गानिक खानेकुरा रायोको सिन्की, खैरो भटमास, सिलाम, माछाको सुकुटी, तामाको अचार, चिकेन अचार, माछाको अचार, स्कुस, पहाडी टिमुर लगाएत विभिन्न जडिबुटीहरु पनि राखिएको थियो ।
नेपाली स्वादमा आलुको भुटुवा, सेलरोटी, भेज/ननभेज मोःमो, नेपाली खाना सेट जस्ता थुप्रै नेपाली परिकारको स्टलहरु पनि राखिएको थियो ।
नेपाली ढाकाबाट बनेका कपडा, चप्पल, सल लगाएत महिला बिशेष लुगाहरु पनि मेलामा प्रर्दशन गरिएको थियो । साथै पुराना प्राचीन सामानहरु पनि प्रदर्शनीको लागि राखिएको थियो ।
सहभागीहरुले आफ्नै मौलिक बाजा र गितका भाकामा नाचगान सहित भव्य रमाईलो गरेका थिए । प्रवासमा रहेर पनि नेपालको झल्को दिने यो मेलामा सहभागी हुन पाउँदा निकै खुसी लागेको सहभागीहरुले बताएका छन् ।
यो संस्थाले हरेक वर्ष गोर्खा मेला बाहेक भानु जयन्ती पनि धुमधामका साथ मनाउने गरेको यसै संस्थाकी उपाध्यक्ष रजनी थापाले जानकारी दिइन् ।
संस्थाले केवल मनोरञ्जन र चाडपर्व मात्रै मनाउने नभइ विभिन्न समस्यामा परेका नेपाली चेलीहरुको पनि उद्दार गरेर उनिहरुको घरसम्म पुर्याउने, क्यान्सर, मृगौलाको समस्या जस्ता जटिल रोगहरुबाट पिडित भएका र आर्थिक संकटमा परेका प्रवासी नेपालीहरुलाइ आर्थिक संकलन गरेर सहयोग गर्दै आएको पनि उपाध्यक्ष रजनी थापाले जानकारी दिइन् ।
कार्यक्रममा मुम्बईमा रहेका मनकामना एकता फाउन्डेसन र सगरमाथा फाउन्डेसन लगायत विभिन्न संस्थाहरुबाट अतिथिहरुको सहभागीता रहेको थियो । त्यस्तै संयुक्त नेपाली महासङ्घका पुर्व अध्यक्ष धिर रावल, बलिउड क्षेत्रबाट विकास क्षेत्री, डोलि थापा, स्थानिय कलाकार र पत्रकारहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।
संस्थाको यो कार्यक्रममा करिब १५०० जना दर्शकहरुले प्रत्यक्ष अवलोकन गरेको र मेलामा राखिएका सामानहरुको राम्रो व्यापार पनि भएको आयोजकले जनाएको छ ।











