रोल्पा जिप दुर्घटना : छानबिन समितिको समयसिमा आज समापन हुँदै ।
रोल्पा। गत बैशाख १७ रोल्पाको थवाङ गाउँपालिका-१, सल्यापमा २० जना नागरिकको ज्यान जाने गरी भएको जिप दुर्घटनाको छानविनका लागि गठित समितिलाई दिइएको ३ दिनको समयावधि आज समाप्त हुँदैछ।
घटना घटेकै दिन सूक्ष्म छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्माननीय प्रधानमन्त्रीज्यूके नेतृत्वमा रहेको गृह मन्त्रालयले तत्कालै लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर,दाङका प्रहरी उपरीक्षकको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गर्ने निर्णय गरेको थियो।
छानविन समिति गठन भए लगत्तै गृह मन्त्रालयले सोही दिन आधिकारिक प्रेस विज्ञप्ति जारी गरी घटनाको विस्तृत विवरण प्रस्तुत गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको थियो। सोही विज्ञप्तिमार्फत घटनाको निष्पक्ष छानविनका लागि गृह मन्त्रालयले समिति गठन गरेको जानकारी समेत सार्वजनिक गरेको थियो ।
छानविन समितिमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक यादव ढकालको संयोजक, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी बल रोल्पाका सशस्त्र प्रहरी नायब उपरीक्षक र जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासकीय अधिकृत सदस्य रहेका छन् ।
रुकुमबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जिप दिउँसो करिब २:५० बजे कच्ची सडकबाट करिब ८ सय मिटर तल खस्दा २० जनाको मृत्यु भएको थियो भने १ जना घाइते भएका थिए ।











