कान्छिबजारमा चौथो कृषि तथा पर्यटन महोत्सवमा आज एलिना चौहानको विशेष प्रस्तुति
रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका-१० स्थित कान्छिबजारमा “चौथो कान्छिबजार कृषि तथा पर्यटन महोत्सव” सुरु भएको छ। स्थानीय कृषि, पर्यटन, कला तथा संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव जेठ ९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
महोत्सवमा दैनिक रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ। आजको मुख्य आकर्षणका रूपमा चर्चित लोक तथा दोहोरी गायिका एलिना चौहान को विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।
त्यसैगरी महोत्सव अन्तर्गत “तेस्रो कान्छिबजार डान्स आइडल” प्रतियोगिता पनि सञ्चालन भइरहेको छ। प्रतियोगिताले स्थानीय प्रतिभावान कलाकारहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ।
महोत्सव परिसरमा बाल उद्यान, विभिन्न व्यापारिक तथा कृषि स्टलहरू, स्थानीय परिकार तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत राखिएको छ। महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री वितरणका माध्यमबाट कृषक र व्यवसायीलाई प्रोत्साहन गर्ने लक्ष्य लिइएको छ।
आयोजकका अनुसार महोत्सवले कृषि तथा पर्यटन क्षेत्रको प्रवर्द्धनसँगै स्थानीय आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।











