नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको निष्कर्षः आईएमएफ


नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको निष्कर्षः आईएमएफ

अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले नेपालको अर्थतन्त्रमा सुधारका प्रारम्भिक संकेतहरु देखिएको बताएको छ ।

नेपालको अर्थतन्त्रको अवस्था र आईएमएफले सहयोग गरेको विस्तारित कर्जा सुविधा (ईसीएफ)को कार्यान्वयनका बारे छलफल गर्न सेप्टेम्बरको ११ देखि २२ सम्म नेपालमा बसेको आईएमएफ टोलीले यस्तो निस्कर्ष निकालेको हो ।

आईएमएफ प्रतिनिधिमण्डलको नेतृत्व गरेकी सार्वत जहाँले विज्ञप्ति जारी गर्दै पछिल्ला समयका तथ्यांकले आयात वृद्धि सकारात्मक बन्न थालेको, कर संकलनमा सुधार हुँदै गएको तथा सार्वजनिक लगानी बढ्न थालेकोले अर्थतन्त्रमा सुधारका प्रारम्भिक लक्षण देखिएको बताएकी हुन् ।

कर्जाको विस्तारमा सुधार हुँदै गए पनि अझै पनि यो नोमिनल आर्थिक वृद्धिभन्दा निकै तल रहेको आइएमएफले बताएको छ । वस्तुको मूल्यमा आएको कमी तथा कमजोर मागका कारण गत आर्थिक वर्षको अन्त्यमा मूल्यवृद्धि ३.६ प्रतिशत रहेको आइएमएफले जनाएको छ ।

बलियो रेमिट्यान्स, पुनरुत्थान हुँदै गएको पर्यटन तथा अझै बढ्न नसकेको आयातका कारण विदेशी मुद्राको सञ्चिति निरन्तर बढिरहेको आईएमएफको भनाइ छ ।

तर, दिगो, बलियो तथा समावेशी आर्थिक वृद्धिको बाटोमा मुलुकलाई लैजानका लागि सुधारको गतिलाई बढाउनुपर्ने आइएमएफको सुझाव छ । ‘यसका लागि सार्वजनिक खर्चको कार्यान्वयनलाई तीव्रता दिनु, आन्तरिक राजस्व परिचालनलाई अझै बलियो बनाउनु तथा बालबालिकाको अनुदानको भुक्तानी तत्काल हुनुपर्छ’, आईएमएफले जनाएको छ ।